सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)बीच आपसी सहयोग आदानप्रदान गर्नेबारे ६ बुँदे सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा दुई पार्टीका विदेश विभाग प्रमुखले हस्ताक्षर गरेका हुन् ।
सम्झौता पत्रमा उच्चस्तरीय भ्रमण आदान प्रदान गर्ने, वैचारिक र राजनीतिक छलफल तीब्र बनाउने र विकासका मोडल एक आपसमा आदान प्रदान गर्ने उल्लेख छ । नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालको उपस्थितिमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
सम्झौतापत्रमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का विदेश विभाग प्रमुख माधवकुमार नेपाल र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सङ ताओले हस्ताक्षर गरे ।
चिनियाँ कम्युनिष्ट शासन पद्धति, त्यहाँको विकासका चरणहरु बुझ्न नेकपाले चिनियाँ कम्युनिष्ट पार्टीसँगको सहकार्यमा छलफल कार्यक्रम राखेको पार्टीको विदेश विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
चिनियाँ राष्ट्रपति सी जिनफिङको हुन लागेको नेपाल भ्रमणको पूर्वसन्ध्यामा दुई पार्टीबीच सहमति भएको हो । नेपाल र छिमेकी चीनका दुई सत्तारुढ कम्युनिष्ट पार्टीले पहिलोपटक सोमबार संयुक्त रूपमा विचारधारात्मक प्रशिक्षण आयोजना गरी समृद्धिको साझा आधार पहिल्याउने पहल थालनी गरेका छन् ।