भारत मध्यप्रदेशको शिवपुरी जिल्लामा खुला स्थानमा शौचालय गएका दुई बालबालिकाको कुटेर हत्या भएको छ । सो जिल्लाको भावखेडी गाउँमा बुधबार विहान बाल्मीकि समाजका दुई बच्चा १२ वर्षिया रोशनी र १० वर्षका अविनास पञ्चायत भवनको अगाडि सडकमा पिसाब फेर्दै थिए ।
प्रहरीका अनुसार स्थानीय हाकिम यादब र उनका भाइ रामेश्वरले दुवै बच्चालाई सडकमा पिसाब नफेर्न आग्रह गरेका थिए । सडक फोहर नगर्न भन्दै उनीहरुले एक्कासी दुवै बच्चालाई लाठीले पिट्न थालेका थिए ।
प्रहरीले दुवै आक्रमणकारीलाई पक्राउ गरेको छ । दुवै बच्चा एकै घरका हुन् । अविनासका पिता मनोज बाल्मीकीले दुवै बच्चा बिहान ६ बजे पिसाब फेर्न निस्केको र हाकिम तथा रामेश्वर मिलेर उनीहरुलाई लाठीले पिटेको जनाएका छन् । रोशनी मनोजकी बहिनी हुन् । उनीहरुले मृत्यु हुन्जेल कुटेको र आफूहरु पुग्दा दुवै भागी सकेको मनोजले जनाएका छन् । दुवै बच्चाको शव पोस्टमार्टमको लागि शिवपुरी जिल्लाको केन्द्रमा पठाइएको छ ।
दुवै बच्चाको घरमा शौचालय नभएकोले उनीहरु बाहिर गएका थिए । प्रहरीले आक्रमणकारीप्रति कारबाही प्रक्रिया अघि बढाएको छ । स्थानीय पञ्चायतमा गाउँको शौचालयको लागि भनेर रकम आएपनि नबनाइदिएको मनोजले गुनासो गरेका छन् । सो घटनाको सर्बत्र निन्दा गरिएको छ ।