सोमबारबाट मौसममा सुधार आउने

अहिले देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, २ र ३ का केही स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अन्य प्रदेशका पनि केही स्थानमा हल्का वर्षा भइरहेको बताइएको छ । भोलिबाट भने मौसममा क्रमशः सुधार हुँदै जाने मौसमविद् मञ्जु बासीले बताइन् । उनका अनुसार आज दिनभरी नै देशव्यापी रुपमा बदलीको अवस्था रहेको छ ।

महाशाखाले हाल मनसुनी न्यून चापीय रेखा औसत स्थानबाट केही उत्तर तर्फ सरेको र भारतको गुजरात तथा अरब सागर आसपासमा न्यूनचापीय प्रणाली रहेको जनाएको छ । अर्को न्यूनचापीय प्रणाली भारतको उत्तर प्रदेशमा रहेको र हाल नेपालमा अरब सागर र बंगालको खाडीबाट आइरहेको जलवास्पयुक्त वायुको पभावले मनसुनी गतिविधी केही सक्रिय रहेको पूर्वानुमान महाशाखाको भनाइ छ ।



मौसमविद् बासीले मनसुनको अवस्था कहिले चाँडै सकिने भए पनि अहिले अलि पछाडि सरेको जनाइन् । यसअघि सेप्टेम्बर २३ को आसपासमा मनसुन टुंगिने गरेको थियो ।

आगामी २४ घण्टा देशका केही स्थानमा मेघ गर्जन र चट्याङ्सहितको हल्का देखि मध्यम वर्षाको सम्भावना रहनुका साथै मध्य र पूर्वका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ ।

यसले सडक तथा हवाई यातायातमा सामान्य अवरोध आउन सक्ने तथा पहाडी भूभागमा पहिरो जान सक्ने भएकोले सतर्क रहन पूर्वानुमान महाशाखाले बुलेटिन जारी गरेर आग्रह गरेको छ ।

सम्बन्धित समाचार