थम्मन थापा
काठमाडौं, १३ असाेज ।
गलकोट नगरपालिका वडा नं ७ का जनप्रतिनिधि लोकबहादुर थापाले आफनो पारिश्रमिकवापतको रकम विद्यालयलाई सहयोग उपलब्ध गराएका छन् । प्रगति आधारभुत विद्यालय मल्म सप्ताहघाटको लागि एक शिक्षकलाई तलब भत्ता स्वरूप सहयोग गरेको वडा सदस्य लोकबहादुर थापाले जानकारी दिए ।
सामुदायिक विद्यालयतर्फ पछिल्लो समय उत्कृष्ट बन्दै गइरहेको विद्यालयमा सरकारी दरबन्दीका शिक्षकहरू पर्याप्त नहुँदा र आर्थिक श्रोतको अभावले स्थानीय स्तरमा रहेका शिक्षकहरूलाई तलब भत्ता व्यवस्थापन गर्न समस्या हुँदै आएको थियो । यस विषयलाई ध्यानमा राखी जनप्रतिनिधि थापाले आफ्नो कार्यकालको तलब गत साउनदेखि नै लागु हुने गरी वार्षिक रूपमा विद्यालयलाई सहयोग गरेकोे प्रगति आधारभुत विद्यालय मल्मका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर थापाले जानकारी दिए ।
विद्यालयमा अहिले सरकारी दरबन्दीमा १ जना र स्थानीय श्रोतबाट तलब व्यवस्थापन गरी १० जना निजी श्रोतका शिक्षकहरू रहेका छन् भने २ वटा दरबन्दी रिक्त रहेका छन् । विसं २०४७ सालमा स्थापना भएको विद्यालयले शैक्षिक सत्र २०६९ देखि अङ्ग्रेजी माध्यमबाट कक्षा सञ्चालन हुँदै आएको छ । जनप्रतिनिधि थापाको सहयोगले विद्यालयलाई आर्थिक भार कम हुने विद्यालयका प्रधानाध्यापक तुलबहादुर थापाले जानकारी दिए ।