लोकतन्त्रमा विरोध गर्न पाइन्छ, तर कसैलाई अवरोध गर्न पाइदैन: नेता रिजाल

पूर्वमन्त्री तथा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले लोकतन्त्रमा विरोध गर्न पाइने भए पनि कसैलाई अवरोध गर्न नपाईने बताएका छन् ।

दमौलीको ऋषिङ गाउँपालिकाको नयाँ भवनको शिलान्यास गर्न पुगेका नेता रिजाललाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्ताले अवरोध गरेका थिए । उनीहरुले तत्कालीन सर्वदलीय संयन्त्र र जिल्लास्तरको प्राविधिक समितिको सिफारिस र निर्णय विपरीत पोखरीभञ्ज्याङमा गाउँपालिकाको भवन बनाउन लागिएको भन्दै शिलान्यास कार्यक्रममा अवरोध गरेका थिए ।



गाउँपालिका बन्दको कार्यक्रमसमेत आयोजना गरिएको थियो । उनीहरुले प्रमुख अतिथि आउने सडक भिमाद–ऋषिङ सडकमा रुख ढालेर अवरोधसमेत गरेका थिए । बन्द र अवरोधका बाबजुद प्रहरीको कडा सुरक्षा र स्कर्टिङमा डा रिजाल कार्यक्रमस्थल पुगेका थिए।

कार्यक्रमस्थलमा जम्मा भएका नेकपाका कार्यकर्ताले गाउँपालिकाको केन्द्र बनाउने निर्णयमा आफूहरुको असहमति रहेको हुँदा शिलान्यास नगर्न अनुरोध गरेको नेकपा ऋषिङ गाउँ कमिटी अध्यक्ष गञ्जसिंह गुरुङले बताए । त्यसलगत्तै नेकपाका कार्यकर्ताहरु नारा जुलुस र कोणसभाको आयोजना गरी अन्यत्रै गएपछि नेता डा रिजालले भवन शिलान्यास गरेका थिए ।

सो क्रममा झडप हुनसक्ने आशङ्काले ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको थियो ।

सम्बन्धित समाचार