चाडपर्वका बेला उपभोग्य वस्तुको भाउ आकाशिदैं गएको छ । दाल चामल, चिनी, नुन तेल जस्ता उपभोग्य वस्तुको भाउ आकाशिएको हो ।
त्यस्तै तरकारी तथा खाद्यान्नको भाउ पनि बढ्दै गएको छ । भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा प्याजको मूल्य बढेको छ । भारतीय प्रतिबन्धसँगै प्याजको मूल्य एकैदिन झण्डै ३० प्रतिशतले बढेको हो ।
भारतले निर्यातमा प्रतिबन्ध लगाएसँगै नेपालमा प्याजको भाउँ एकैदिन २८.२७ प्रतिशतले बढेको कालिमाटी तरकारी बजारले जनाएको छ ।
आइतबार कालिमाटी बजारमा प्रतिकेजी प्याजको मूल्य १ सय ५ रुपैयाँ थियो । भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएसँगै सोमबार प्रतिकेजी प्याजको मूल्य १ सय ३५ रुपैयाँ पुगेको छ ।
भारतमा वर्षाका कारण रोपिएको प्याज नष्ट भएपछि मूल्य बढ्न थालेको थियो । स्थानीय बजारमै प्याजको मूल्य बढ्न थालेपछि भारत सरकारले प्याज निर्यातमा प्रतिबन्ध लगाएको थियो ।
नेपालमा ९० प्रतिशत बढी प्याज भारतबाट आयात हुन्छ । गत आर्थिक वर्षमा भारतबाट ५ अर्ब ६२ करोडको प्याज आयात भएको थियो ।