वैदिक सनातन धर्ममा पूजापाठ र हवनयज्ञको विशेष महत्व छ । कुनै पनि शुभ कार्यमा हवन गर्नु आवश्यक मानिन्छ । हवन गर्दा ‘स्वाहा’ शब्द उच्चारण गरिन्छ । किन यसो गरिएको हो रु आउनुस् यसको चर्चा गरौं ।
वैदिक कालदेखि नै आहुतिका बेला स्वाहा उच्चारण गरिन्थ्यो । ऋग्वैदिक कालमा मनुष्य र देवताहरूको माध्यमका रूपमा अग्निलाई छानिएको थियो । अग्निको तेजमा सबै कुरा पवित्र हुन्छ र देवताहरूलाई समर्पित वस्तु हवनको अग्निमा चढाउँदा उनीहरूकहाँ पुग्छ भन्ने विश्वास छ । तर स्वाहा भनेपछि मात्र देवताकहाँ सामग्री पुग्न सम्भव हुन्छ ।
निरुक्तमा स्वाहाको अर्थ हुन्छ सही रीतिबाट पुर्याउनु । आवश्यक भौगिक पदार्थ प्रिय देवतासम्म पुर्याउने कामलाई स्वाहा भनिन्छ । कुनै पनि हवन र अनुष्ठानको उद्देश्य हवन सामग्री देवताले ग्रहण गरून् भन्ने हो । स्वाहा उच्चारण गरेर यज्ञमा भोग चढाउँदा देवताले पाउँछन् ।
पौराणिक मान्यता:
अग्नि र स्वाहाका सम्बन्धमा विभिन्न रोचक पौराणिक कथाहरू उपलब्ध छन् :
सृष्टिको सुरुवातमा देवताहरूमा खानेकुराको निकै अभाव भयो । सबै देवता ब्रह्माको अगाडि उपस्थित भए । ब्रह्माले एक उपाय रचे । यज्ञको बेला होमिने वस्तुहरूलाई प्रयोगमा ल्याएर देवताहरूको खानेकुराको कमी पूर्ति गरिने भयो । तर ब्राह्मणहरूले होम गर्दा अग्निमा हालेको कुरा अग्नीले जलाउन सक्थ्यो । ब्रह्माले प्रकृतिकी देवीको तपस्या गरे । एक देवी प्रकट भइन्, अनि ब्रह्मालाई के चाहियो भनेर सोधिन । ब्रह्माले देवीलाई आग्रह गरे की उनी अग्निसँग मिलेर होममा चढाएका वस्तु जल्नबाट बचाउन् ।
ब्रह्माले भने, जब मन्त्रको अन्त्यमा ‘स्वाहा’ भनिन्छ तब मात्र होममा चढाएका वस्तु अग्निद्धारा स्वर्गका देवताले पाउँथे । यो सँगै ती स्वाहा देवी अग्नीको स्त्री, साथीभाइसँगै रहन थालिन् । अग्निको शक्ति स्वाहा देवीले आफ्नो वशमा लिइन् । तत्पश्चात मन्त्रको अन्त्यमा ‘स्वाहा’ भनिन थाल्यो । यसैकारण स्वर्गमा फेरि खानेकुराको सङ्कट टरेको जनविश्वास गरिन्छ ।
स्वाहा दक्षप्रजापतिकी पुत्री थिइन् र उनको विवाह अग्निदेवसँग भएको थियो । अग्निदेवलाई भविष्यवाहक पनि भनिन्छ । अग्निदेव आफ्नी पत्नी स्वाहाको माध्यमले हवन ग्रहण गर्छन् र उनको माध्यमबाट देवताहरूले हवन सामग्री ग्रहण गर्छन् ।
सबै वैदिक तथा पौराणिक विधानहरू अग्निलाई समर्पित मन्त्रोच्चारण तथा स्वाहाद्वारा हवन सामग्रीलाई देवतासम्म पुर्याउने कुरालाई पुष्टि गर्छन् ।