पोखरामा निर्माणाधिन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका रनवे प्रमुख अनिल कार्की माथि निर्घात कुटपिट भएको छ । विमानस्थलको भित्री संरचना बनाउने ठेकेदार कम्पनीका म्यानेजर कमल कार्की नेतृत्वको टोलीले उनीमाथि कुटपिट गरेका हुन् ।
उनीमाथि बुधबार राती १० बजे कुटपिट भएको हो । कार्कीलगायत कुटपिटमा संलग्नहरु आयोजना प्रमुख प्रदीप अधिकारी निकटका व्यक्ति भएको पीडित अनिल कार्कीले बताएका छन् ।
पार्टी छ भनि बोलाएर योजनावद्ध ढंगले आफुमाथि कुटपिट गरिएको रनवे प्रमुख कार्कीले बताए । ‘दशैँको बेला रमाइलो गरौँ भनेर पार्टीमा बोलाएर आक्रमण गरे’ उनले भने । घाइते भएका कार्कीको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको छ ।
कार्कीको टाउको र आँखामा चोट लागेको छ । दायाँ आँखा सुन्नीएको र रगत जमेको देखिन्छ । शरिरका विभिन्न भागमा निलडाम समेत छन् ।