सिन्धुपाल्चोक दुर्घटना अपडेट : मृतकको सङ्ख्या १२, पाँचको सनाखत

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१२ भोटसिपास्थित बडहरे चोक नजिक खोँचमा एक सवारी साधान दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । सोही गाउँपालिका–९ को सिपाटारबाट काठमाडौँका लागि छुटेको हेलम्बु यातायातको बा २ ख २७१५ नंको बस सडकबाट २०० मिटर तल खस्दा १२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पचासभन्दा बढी घाइते भएकोे स्थानीयवासी राजेन्द्र आचार्यले बताए । सो घटनामा क्षतिको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । दुर्घटनाको स्थिति हेर्दा थप क्षति हुनसक्ने देखिन्छ । दुर्घटनामा परेका प्राय सबै घाइते भएको हुनसक्ने अनुमान गरिएको र घटनाको थप विवरण आउन बाँकी रहेको उनको भनाइ थियो ।



छतमा समेत यात्रु भएकाले कम्तीमा पनि ७० भन्दा बढी यात्रु उक्त बसमा चढेका प्रहरी नायब उपरीक्षक काफ्लेले बताए । कच्ची सडक र यात्रु बढी भएकाले हेलम्बु यातयातको सो बस दुर्घटना भएको हुन सक्ने बताइएको छ ।

प्रदेश नं ३का सामाजिक विकासमन्त्री युवराज दुलाल ‘शरद’ उक्त बस दुर्घटनास्थलमा पुगेका छन् । हेलिकप्टर लिएर घटनास्थल आइपुगेका उनले घाइतेको उद्धारमा कुनै कमी हुन नदिन सुरक्षा निकायलाई निर्देशन दिनाका साथै अस्पतालमा पुगेर घाइतेको अवस्थाबारे जानकारी लिए । उक्त दुर्घटनामा मृत्यु भएका १२ मध्ये पाँच जनाको सनाखत भएको छ ।

सनाखत हुनेहरूमा:

काभ्रे घर भएका केदारनाथ महाजु,

काभ्रे पाँचखाल नगरपालिकाकी सङ्गीता पुरकोटी,

इन्द्रवती–९ का हीरा श्रेष्ठ,

इन्द्रवती–९ का विनोद लम्साल

इन्द्रवती–१० का का रितेश आचार्य छन् ।

सम्बन्धित समाचार