राष्ट्रपति सीको भ्रमणले द्विपक्षीय सम्बन्ध नयाँ उचाइमाः उपप्रधानमन्त्री पोखरेल

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको बताएका छन् । ‘सिल्क रोड युथ फोरम’ले आज यहाँ आयोजना गरेको ‘चाइना–नेपाल युथ कोअपरेशन कन्फरेन्स’को उद्घाटन कार्यक्रममा उनले राष्ट्रपति सीको भ्रमणले नेपालीमा नयाँ आशा र उत्साह थपेको बताए ।

भ्रमण द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन ऐतिहासिकरुपमा सफल भएको उल्लेख गर्दै उपप्रधानमन्त्री पोखरेलले चीनको सहयोगले नेपाललाई भूपरिवेष्टित मुलुकबाट भूजडित मुलुक बनाउन योगदान पुग्ने विश्वास व्यक्त गरे । उनले भने, “नेपाल र चीन दुवै देश पुराना मित्र हुन् । हाम्रो मित्रतामा कहिल्यै आँच आएन, बरु सहयोगी सम्बन्ध रहिरह्यो । दुवै देशबीच जनस्तरमा पनि बलियो सम्बन्ध रहिआएको छ ।” नेपालले चीनको विकास र समृद्धिबाट सिक्न चाहेको उनले बताए ।



कार्यक्रममा चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले नेपाल अहिले विश्वमै धेरै युवा जनसङ्ख्या भएको मुलुकमध्ये एक रहेको उल्लेख गर्दै दुवै देशका युवाबीच रोजगारी सिर्जना र व्यावसायिक योजनामार्फत दुवै देशले लाभ लिनसक्ने धारणा व्यक्त गरे । साथै उनले राष्ट्रपति सीको नेपाल भ्रमण उपलब्धिमूलक र ऐतिहासिकरुपमा सफल भएको बताए ।

सम्बन्धित समाचार