प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुनर्गठनको तयारी शुरु गरेका छन् । सत्तारुढ नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले कम्तिमा पनि ६ जना मन्त्रीलाई हटाउने गरी मन्त्रीमण्डल पुनर्गठन गर्न लागिएको भनेर अर्का अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई जानकारी गराएका छन् ।
सोमबार बिहान बालुवाटारमा भएको छलफलका क्रममा ओलीले प्रचण्डलाई मन्त्रीमण्डल पुनर्गठन गर्न लागिएको जनाएका हुन् । बैठकमा प्रधानमन्त्री ओलीले बर्खास्तीमा पर्ने भनेर ८ जना मन्त्रीको नाम पढेर प्रचण्डलाई सुनाएका थिए ।
प्रचण्डले केही मन्त्रीको विषयमा फेरि सोच्न भनेपछि २ जनाको जिम्मेवारी हेरफेर गर्ने र ६ जनालाई बर्खास्त गर्न सकिने विकल्पबारे छलफल भएको थियो ।
स्रोतका अनुसार प्रधानमन्त्री ओलीले मन्त्रीहरु मात्रिका यादव, लालबाबु पण्डित, थममाया थापा, बिना मगर, युवराज खतिवडा, चक्रपाणी खनाल, शक्ति बस्नेत र रघुबीर महासेठलाई बर्खास्त गर्ने प्रस्ताव गरेका थिए । तर, प्रचण्डले केही मन्त्रीको विषयमा पुनर्विचार गर्नुपर्ने भनेपछि प्रधानमन्त्री ओलीले २ जनाको जिम्मेवारी हेरफेर गर्न सकिने विकल्प सुनाएका थिए ।
मंगलबारका लागि बोलाईएको सचिवालय बैठकले मन्त्रीमण्डल पुनर्गठनको निर्णय गर्ने स्रोतको दावी छ ।