प्रधानमन्त्री केपी शर्मा ओलीले पश्चिमा संस्कृतिको अनुकरण गरेर संचारमाध्यम र संचारकर्मीले आफ्नो शिष्टता र मर्यादा बिर्सेकोमा दुःख व्यक्त गर्नुभएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानले मंगलबार राजधानीमा आयोजना गरेको दोश्रो चीन र दक्षिण एसिया साहित्य सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले संचारमाध्यममा प्रयोग भएका भाषाका सम्बन्धमा असन्तुष्टी जनाउनुभएको हो । उहाँले भाषा र संस्कृति नबिर्सन सचेत पनि गराउनुभयो ।
उहाँले विकसित मुलुकको संस्कृति देखासिकी गर्ने परिपाटीले नेपाली भाषा, संस्कृति र मर्यादालाई नयाँपुस्ताले विर्सदै गएको बताउनुभयो । विशेष गरेर सामाजिक सञ्जाल र संचारक्षेत्रमा प्रयोग भएका भाषाप्रति उहाँले गम्भीर असन्तुष्टी जाहेर गर्नुभयो । उहाँले भन्नुभयो “सभ्यताका पर्खालहरु बागमतीमा फालिए । शिष्टता, मर्यादा केही पनि छैन । पत्रकारले बाउलाई पनि तपाई भन्दैन । तिमी भन्दा माथि उठेर । यो एउटा ट्रेन हो । किनभने अग्रेजीको ‘यु’ लोभ लागेर, अर्काको एउटा ‘यु’ भन्ने शब्दको लोभ लागेर बालाई तपाई भन्न गाह्रो लाग्यो । किनभने पैसावाला, डलरवाला, ‘यु’ वालाहरु ‘यु’ ले काम चलाउँछन् किन काम नचलाउने रु सभ्यता त त्यो रहेछ भन्ने भ्रम पर्या छ । सानालाई तिमी भन्ने ठुलालाई तपाई भन्ने स्वभाविक हो । भाषा समाजको संस्कृतिको एउटा आफ्नो प्रचलन हुन्छ आफ्नो मर्यादा हुन्छ । ”
दक्षिण एसियाका कतिपय देशहरुमा जनताको सार्वभौम सत्ता खोसिएको, कुण्ठित वा मृत अवस्थामा रहेको, बलको आधारमा शासन सत्ता सञ्चालन गर्ने प्रवृत्ति देखिएको तथा केहीले लोकतान्त्रिक व्यवस्था अबलम्बन गरि राजनीतिक, आर्थिक अवस्था सुदृढ गर्दै विकासको बाटोमा सुपर पावरको अवस्थामा रहेको चर्चा पनि उहाँले गर्नुभयो । नेपाल लोकतान्त्रिक प्रणालीमा गएको भएपनि अझै पनि थिति नबस्दाका ‘धङधगीहरु’ कायमै रहेको टिप्पणी उहाँले गर्नुभयो । उहाँले भन्नुभयो “परिर्वतन भयो । थिति तर्फ हामी गयौ । थिति नबस्दाका धङधगीहरु छँदै छन् । आलोचनात्मक चेत प्रमुख भएको अवस्था हाम्रो देशमा पनि छ । किनभने यसले अबको बाटो के हो भनेर जसरी समग्रतामा समाउन पर्ने त्यो अलि समात्न सकेको छैन ।”
उहाँले कला, संस्कृति र साहित्यमा नेपाल विश्वकै तुलनामा धनी भएको भन्दै उहाँले कला, संस्कृति, सभ्यता र साहित्यलाई सम्बद्र्धन गर्दै अघि बढाउनुपर्ने आवश्यकता औल्याउनुभयो ।
प्रधानमन्त्री ओलीले एसिया विकास र साहित्यको जननी भएको भन्दै उहाँले वास्तविक सुन्दर परम्परा र ऐतिहासिक सभ्यताको आधुनिक रुपमा विकास गरेर अघि बढ्नुपर्ने आवश्यकता औल्याउनुभयो । अन्तरहिमाली सांस्कृतिक एवंम् साहित्यिक सम्बन्ध प्रबर्धनका लागि प्रतिष्ठानले चीन र दक्षिण एसियाका साहित्यकारहरुको सम्मेलन गरेको हो । सम्मेलन कात्तिक ३ गते सम्म चल्ने छ ।