नेकपाको चियापान: अध्यक्षद्वयले गरे चिनियाँ राष्ट्रपतिको चर्चा

प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलकसँगको सम्बन्ध सुधार र मुलुकभित्र नयाँ नयाँ आयोजनाको थालनी गरेर नेपाल विकास र समृद्धिको नयाँ बाटोमा अघि बढेको बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बडादशैं, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सम्बोधन गर्दै उनले हाम्रो देश हामीले नै बनाउने हो, कानूनी राज्य पालना, सुशासन कायम र भ्रष्टाचारमुक्त र संस्कारयुक्त समाज निर्माण गर्न हामी सबै लाग्नुपर्छ भने ।

प्रधानमन्त्री ओलीले केही पनि भएन भन्नेहरुको आफ्नो स्वार्थ होला, तिनीहरुले आँखा चिम्लेर हेरेको हुनसक्छ, आँखा खोलेर हेर्दा जनताका लागि धेरै काम अगाडि बढेका छन् भने ।



उनले भने, “जनताका लागि धेरै काम भएका छन् । जस्तै बृद्ध भत्ता बृद्धि, बिजुलीमा जनताको लगानी, पोखरा र भैरहवा विमानस्थल, द्रुत मार्गको निर्माण द्रुत, पेट्रोलियम पाइपलाइन शुरुआत, सयौँ पुल निर्माण, कोशीमा स्टिमर सञ्चालन, वैदेशिक लगानीमा वृद्धि, चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण, बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन निर्माण कार्यलगायत छन् । ”

प्रधानमन्त्री ओलीले नेपाल सांस्कृतिकरुपमा समृद्ध रहेको चर्चा गर्दै विविधतामा एकता छ भने । उनले विविधताको एकतालाई कसैले विखण्डन गर्न नसक्ने उल्लेख गरे । एकताको बलको आधारमा राष्ट्रिय एकतालाई थप सुदृढ पार्दै समृद्ध नेपाल सुखी नेपाली अभियानमा सरिक हुन उनले आह्वानसमेत गरे ।

आर्थिक विकासका लागि त्रिदेशीय साझेदारीको रणनीतिक आधार तयार हुँदै: ‘प्रचण्ड’
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल, भारत र चीनबीच आर्थिक विकासको त्रिदेशीय साझेदारीको नयाँ रणनीतितर्फ जाने आधार तयार हुँदै गएको बताएका छन्।

केही वर्ष पहिले चीन र भारतको भ्रमणमा जाँदा विशिष्ट भू–राजनीतिक अवस्थाको कारणले त्रिदेशीय साझेदारीको नयाँ आर्थिक विकासको रणनीतितर्फ जानुपर्दछ भनेर आफूले नै प्रस्ताव गरेको स्मरण गर्दै अध्यक्ष दाहालले चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणपछि अहिले राजनीतिक रुपले नै उक्त रणनीतितिर जाने समझदारी बन्दै जान थालेको उल्लेख गरे ।

चाडबाडको अवसरमा नेकपाले आज काठमाडौंमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भने, “टु प्लस वान भनेर राष्ट्रपति सी र नरेन्द्र मोदीका बीचमा पनि छलफल अगाडि बढेर एउटा नयाँ परिस्थिति बन्न थालेको छ, उनको भ्रमणका क्रममा गरिएका सहमति र समझदारीले नेपाल नयाँ र उज्ज्वल भविष्यतिर लम्किएको छ ।”

चीनका राष्ट्रपति सीबाट नेपाल अब भू–परिवेष्टित होइन भू–जडित देशमा परिणत गर्न हाम्रो सहयोग रहन्छ भनेर प्रतिबद्धता आइसकेकाले मुलुक विकास, समृद्धि र समाजवादको तयारीको नयाँ युगतिर प्रवेश गरेको उनले जिकिर गरे ।

अध्यक्ष दाहालले छिमेकी देशको विकासबाट हामीले लाभान्वित हुने नयाँ राजनीतिक विश्वासको वातावरण बन्दै गएको उल्लेख गर्र्दै यो भ्रमणको धेरै आयाम छन्, त्यसको नयाँ महत्वपूर्ण पक्ष राष्ट्रपति सी चिनफिङ भारतमा गएर त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल गरी नेपालमा आएर जुन सद्भाव, विश्वास र समझदारीको वातावरण बनेको छ, त्यो महत्वपूर्ण छ भने । यो अवस्थामा नेपालीको काँधमा ठूलो जिम्मेवारी आएको समेत उनको भनाइ थियो ।

अध्यक्ष दाहालले सकारात्मक ढङ्गले विकसित भएको मुलुकको संवैधानिक, कानूनी र राजनीतिक वातावरणलाई राष्ट्रिय एकताका साथ राष्ट्रिय स्वाधीनता र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै नेपाली जनताले चाहेको छिटोभन्दा छिटो विकास र समृद्धि हेर्ने आकाङ्क्षा पुरागर्न नयाँ सङ्कल्प गर्नु जरुरी रहेको बताए ।

शुभकामना आदानप्रदान कार्यक्रमलाई सङ्केत गर्दै अध्यक्ष दाहालले यसखालका कार्यक्रममार्फत हामीले गर्ने प्रतिबद्धता राजनीतिक दलबीच सुदृढ एकता नै हो भने ।

सम्बन्धित समाचार