जल तथा मौसम पूर्वानुमान महाशाखाले पूर्वी तथा मध्य हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेकोले यात्रा गर्दा सतर्कता अपनाउन आग्रह गरेको छ । हाल देशको पश्चिमि भेगका केहि स्थानमा मौसम सामान्यतया सफा रहेतापनि बाँकी भागमा भने सामान्य बदलीको अवस्था रहने महाशाखाको पूर्वानुमान छ ।
अरब सागरको पूर्वी–मध्य भागमा एउटा निम्न चापीय प्रणाली विकशित भैरहेको अवस्थामा छ । साथै भारतको उत्तरप्रदेशमा अर्को निम्न चापीय प्रणाली अवस्थित रहेको छ । यस संगै उत्तर–पश्चिमी भारतमा पश्चिमी वायुको प्रभाव पनि रहेको महाशाखाले जनाएको छ ।
दिउँसो देशको मध्य तथा पूर्वी भू भागमा सामान्य बदली रहने तथा पश्चिमी भुभागमा आंशिक बदली रहनेछ। मध्य र पुर्वका थोरै स्थानहरुमा र पश्चिमका एक वा दुइ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । मध्य तथा पूर्वी हिमाली भू भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको देखिन्छ ।
राति देशका मध्य तथा पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली रहने तथा बाँकी भू-भागमा आंशिक बदली रहनेछ। देशको मध्य तथा पूर्वी पहाडी भू-भागका थोरै र पश्चिमी पहाडी भु-भागका एक वा दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।