प्रधानमन्त्री केपी शर्मा ओलीले नागढुंगा सुरुङ मार्गको शिलान्यास गरेका छन् । ओलीले नेपालको इतिहासमै पहिलो पटक राजमार्ग अन्तर्गतको सुरुङ मार्गको सोमबार एक कार्यक्रमका बीच शिलान्यास गरेका हुन् ।
प्रधानमन्त्री ओलीले नेपाल सुरुङ मार्गको नयाँ युगमा प्रवेश गरेको उल्लेख गर्दै आम नेपालीलाई बधाइ दिए । उनले जलविद्युतको क्षेत्रमा, सिँचाइको क्षेत्रमा नहरहरु बने पनि राजमार्गमा सुरुङ निर्माणको कार्य पहिलो पटक नेपालमा भएकोमा आफूलाई खुसी लागेको पनि बताए ।
उनले सुरुङ मार्ग तोकिएको समयमा सम्पन्न गर्न जापानको हाज्मा इण्डो कर्पोरेशनलाई सचेत गराए । ४२ महिनाभित्र निर्माण सम्पन्न हुनेगरी सुरुङ मार्ग जापान सरकारको ऋण सहायतामा बन्न लागेको हो । त्यसअवसरमा प्रधानमन्त्री ओलीले सुरुङ मार्ग निर्माणका लागि सहयोग गरेकोमा जापान सरकार र जापानी जनताप्रति पनि आभार व्यक्त गरे ।
प्रधानमन्त्री ओलीले आफू नेतृत्वको वर्तमान सरकारले नेपालको इतिहासमा पहिलो पटक यति धेरै सडक निर्माण गरेको स्पष्ट पारे । उनले सुरुङ मार्ग निर्माणको अन्य कामलाई पनि सरकारले तीव्रता दिने प्रतिबद्धता व्यक्त गरे । टोखा–छहरे, बेत्रावती–स्याफ्रुबेशी सुरुङ मार्गलाई पनि अगाडि बढाउन लागिएको प्रधानमन्त्री ओलीको भनाइ छ ।