नेकपालाई कार्यकर्ता समेट्न मुश्किल

दुई मुख्य वामपन्थी दलको एकताबाट बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई निश्चित मापदण्डमा कार्यकर्तालाई समेट्नै कठिन परेको छ । नेकपा पाँचथरले आज फिदिममा आयोजना गरेको जिल्लास्तरीय कार्यकर्ता भेलामा पार्टीका गाउँ-नगर कमिटीका सदस्यसम्मलाई सहभागी गराइएको थियो । तर विगतमा महत्वपूर्ण जिम्मेवारीमा रहेका नेता कार्यकर्तासमेत उक्त मापदण्डमा नसमेटिएपछि कार्यक्रममा सहभागी गराउन नेकपालाई सकस परेको देखियो ।

जिल्लास्तरमा विभाग तथा आयोग नबनेको तथा भ्रातृ तथा जनवर्गीय सङ्गठन निर्माण नहुँदा धेरै कार्यकर्ता समेट्ने आधार नभएको नेकपाले बताएको छ ।



तत्कालीन नेकपा (एमाले) तथा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय कमिटी, प्रदेश कमिटी, जिल्ला कमिटी तथा गाउँ-नगर कमिटीका कतिपय पदाधिकारी तथा सदस्यलेसमेत हालसम्म जिम्मेवारी पाउन सकेका छैनन् । तत्कालीन माओवादी केन्द्रका पोलिटब्युरो सदस्यसमेत रहेका पूर्वमन्त्री श्रीप्रसाद जवेगुले हालसम्म कुनै पनि जिम्मेवारी पाएका छैनन् ।

अर्का तत्कालीन पोलिटब्युरो सदस्य नरबहादुर दुलालसमेत जिम्मेवारीविहीन छन्। तत्कालीन एमालेका राष्ट्रिय परिषद् सदस्य गणेशकुमार काम्बाङ, जिल्ला नेता थुमनाथ चापागाईं जिम्मेवारीविहीन छन् । नेकपा पाँचथरका कार्यालय सचिव पृथ्वी लावतीका अनुसार विगतमा दुई पार्टीका जिल्ला कमिटीका केही सदस्यले गाउँ-नगर कमिटीमा समेत जिम्मेवारी पाएका छैनन् ।

यस्तै सक्रिय नेताले कार्यकारी जिम्मेवारी नपाउँदा नेकपामा जिल्लास्तरमा खटपटसमेत देखिने गरेको छ । जिल्लाबाट नेकपाका ११ जना प्रदेश कमिटी सदस्यमध्ये राजकुमार भण्डारी जिल्ला अध्यक्ष, होमबहादुर जवेगु जिल्ला सचिव छन् । बाँकी नौ जना नेताहरुले कार्यकारी जिम्मेवारी पाएका छैनन् । गाउँ-नगर कमिटीका पदाधिकारी तथा जनप्रतिनिधि बाहेकका सदस्य बेरोजगार जस्तै हुनुपरेको जिल्ला कमिटी सदस्य राजन खतिवडाको गुनासो छ ।

आजको कार्यक्रममा नेताहरुले अतिथिको रुपमा आमन्त्रण गरिए पनि कतिपय कार्यकर्ताले आफूहरु पार्टी मापदण्डमा नपरेको भन्दै असन्तुष्टि जनाएका थिए । पार्टीले कतिपयलाई स्वयंसेवकका रुपमा कार्यक्रममा सहभागी गराएको थियो भने कतिपय कार्यकर्ता कार्यक्रममै सहभागी नभई बसेका थिए । दुई पार्टीको एकतापछि जिल्लास्तरमा कुनै पनि सार्वजनिक कार्यक्रम नभएको भन्दै कतिपय कार्यकर्ताले आमसभा गरिनुपर्ने मागसमेत गरेका थिए ।

सम्बन्धित समाचार