पशुपति क्षेत्र विकास कोषले आर्यघाटमा शवदाहमा संलग्न हुने घाट सेवा केन्द्रका कर्मचारीको सेवासुविधा वृद्धि गर्न सहमति गरेको छ ।
सेवा केन्द्रका कर्मचारीहरूले सेवा सुविधा वृद्धिको माग गर्दै बुधबार बिहानबाट शव दाहलगायतका सबै काम बन्द गर्ने घोषणा गरेपछि कोषले वार्ता गरेको थियो ।
उनीहरूको आन्दोलनबाट शव दाहको कार्य नै रोकिने भएपछि पशुपति क्षेत्र विकास कोषका पदाधिकारी र घाट सेवा केन्द्रका प्रतिनिधिबीच भएको वार्तामा सो सहमति भएको हो ।
सहमतिअनुसार घाट सेवा केन्द्रका कर्मचारीहरूले एउटा शव जलाएबापत १५ सय र औषधि उपचार खर्चबापत १५ हजार पाउनेछन् ।
यसैगरी, अवकाश पाउँदा उपदानबापत पाउने डेढ लाख रुपैयाँबाट ५ लाख रुपैयाँ पुर्याउने र २ लाख रुपैयाँबराबरको दुर्घटना बीमा गर्ने सहमति पनि भएको छ । सहमतिपछि आन्दोलनरत पक्षले आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ ।
सेवासुविधा वृद्धिको माग राख्दै घाट सेवा केन्द्रका कर्मचारीहरूले बुधबार बिहान ६ बजेदेखि अनिश्चितकालका लागि शवदाह, दाउरा ओसारपसारलगायतका सबै कामहरू बन्द गरेको सूचनासहितको कालो ब्यानर आर्यघाट क्षेत्रमा राखेका थिए ।