उत्खनन गर्दा भेटियो विश्वकै पुरानो प्राकृतिक मोती

संयुक्त अरब इमिरेड्स (युएई) को राजधानी अबुधाबीनजिकै एउटा टापुमा उत्खननका क्रममा विश्वको सबैभन्दा पुरानो प्राकृतिक मोती फेला परेको छ।

अबुधाबीस्थित मरवाह द्वीपमा उत्खनन गर्ने क्रममा आठ हजार वर्ष पुरानो मोती फेला परेको हो । उत्खननका क्रममा यूएईको प्राचीन वास्तुकलाबारे पनि जानकारी भएको छ ।



त्यस क्षेत्रमा नवपाषाणयुगदेखि नै मोतीको व्यापार हुने गरेको उत्खननले देखाएको अधिकारीहरूले उल्लेख गरेका छन् । यसै महिनाको अन्त्यतिर अबुधाबीस्थित संग्रहालयमा सो मोती प्रदर्शनमा राखिनेछ ।

आबुधाबीको संस्कृति तथा पर्यटन विभागका अध्यक्ष मोहम्मद खालिफा अल मुबारकले भने, ‘अबुधाबीमा फेला पारिएको विश्वकै सबैभन्दा पुरानो मोतीले हाम्रो आधुनिक आर्थिक र सांस्कृतिक इतिहासको गहिरो जरा प्रागऐतिहासिक बिहानीमै पुग्ने स्पष्ट पारेको छ।’

पुरातत्त्वविदहरूले जैविक पदार्थ भएको वस्तुको आयु पत्ता लगाउने रेडियोकार्बन डेटिङ विधि प्रयोग गरेर सो मोती इसापूर्व ५८०० देखि ५६०० बीचको हुन सक्ने बताएका छन्।

सो समयमा मोती गहना बनाउन प्रयोग भएको हुन सक्ने र प्राचीन इराक रहेको मेसोपोटामियासँग माटोका वस्तु र अन्य सामग्री किन्न प्रयोग हुने यूएईका विज्ञहरू बताउँछन्।

मरहवा द्वीपमा ध्वस्त भएका ढुङ्गे संरचनाहरूमा केन्द्रित रहेर उत्खनन् गरिएको थियो । जसमा माटोबाट बनेका वस्तु, सिपी र पत्थरबाट बनेका माला र विशेष खालको पत्थरबाट बनेको तीरको टुप्पो फेला परेको थियो।

सम्बन्धित समाचार