बुधबार स्वास्थ्यमा अकस्मात समस्या देखिएपछि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको आज पनि मिर्गौलाको डायलासिस गरिने भएको छ । प्रधानमन्त्री ओलीको मिर्गौलाको डायलासिस सुरु गरिएको र आज पनि डायलासिस गरिने अस्पताल स्रोतले जनाएको छ । बुधबार साँझसम्म अति गोप्य राख्न खोजिएको उनको स्वास्थ्य अवस्थाबारे ग्राण्डी अस्पतालले निकालेको विज्ञप्तिमा समेत झुट बोलिएको थियो ।
स्रोतका अनुसार प्रधानमन्त्री ओलीको थप डायलासिस गर्नुपर्ने भएकाले उनी अझै केही दिन अस्पतालमै बस्नुपर्ने सम्भावना छ । प्रधानमन्त्रीको रगतमा हानिकारिक क्रेटिनाइनको मात्रा बढी देखिएकाले थप डायलासिस गर्न लागिएको तथा उनलाई संक्रमणको पनि जोखिम रहेकाले कडा खालको एन्टिबायोटिक चढाइएको पनि जानकारी दिएका छन् ।
प्रधानमन्त्री ओलीको १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो । मिर्गौला प्रत्यारोपणपछि उनले नियमित स्वास्थ्य जाँच गराउँदै आएका छन् ।