काठमाडौं । कपिलवस्तुमा गोली लागेर ज्यान गुमाएका व्यक्ति भारतीय नागरिक भएको पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी दिप शमशेर जबराका अनुसार ज्यान गुमाएका व्यक्ति भारतीय नागरिक सुरज पाण्डे हुन् । पाण्डे भारत बरौनीका स्थानीय रहेको खुलेको छ ।
एसपी जबराले प्रहरीले गोली नचलाएको दाबी गर्दै घटनाबारे अनुसन्धान भइरहेको बताए । उनले भने, ‘‘मृतक पाण्डेको ज्यान गोली लागेरै भएको देखिन्छ । तर, हामीले गोली चलाएका छैनौं । घूसपैठको सम्भावना छ । अवस्था सामान्य भइसकेको छैन ।’’ प्रहरीका अनुसार स्थानीय राजनीतिक दलका नेता, जनप्रतिनिधि समेत नगरपालिकामा नभएकाले समन्वय गर्न असहज भइरहेको छ ।
कृष्णनगरमा बुधबार लक्ष्मीपूजाको मुर्ति विसर्जन गर्न जाँदा विसर्जन पक्षधर र अर्को समुदायका व्यक्तिबीच झडप भएको थियो ।
स्थानीय मुस्लिम समुदायका केही व्यक्तिहरुले मुर्ति विसर्जन गर्न आफूहरुको बाटो प्रयोग गर्न नदिने बताएपछि विवाद सिर्जना भएको थियो । बुधबार साँझ नै स्थिति नियन्त्रणमा लिन प्रहरीले २० राउण्ड बढी आश्रुग्यास प्रहार गरेको थियो ।
विवादका कारण लक्ष्मीपूजाको मुर्ति अझै विसर्जन हुन सकेको छैन । बिहिबार बिहानैबाट अवस्था बिग्रँदै गएपछि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले अनिश्चितकालिन कफर्यु आदेश जारी गरेको छ ।
प्रदर्शनकारीको प्रहारबाट ५ जना प्रहरी समेत घाइते भएको बताइएको छ । प्रहरीले नागरिक समाज तथा स्थानीय पत्रकारहरुको समन्वयमा घटना शान्त पार्ने प्रयास भइरहेको बताएको छ ।