दुई पक्षबीचको सहमति पछि कपिलवस्तुमा स्थिति सामान्य बन्दै

हिन्दु र मुस्लिम समुदायबीचको विवादका कारण बुधबार रातिदेखि तनावग्रस्त रहेको कपिलवस्तुको कृष्णनगरको जनजीवन विस्तारै सामान्य बन्दै गएको छ ।

बिहीबार बिहान हिन्दु र मुस्लिम समुदायबीचको तनावलाई नियन्त्रणमा लिन ‘प्रहरीले चलाएको गोली’ लागेर १ युवकको मृत्यु भएपछि कपिलवस्तु झन् तनावग्रस्त बनेको थियो ।



स्थानीय प्रशासनले स्थिति नियन्त्रणमा लिन बिहीबार बिहान ११ बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको थियो ।

बिहीबार दिउँसोदेखिको प्रयासका बाबदूत राति दुई पक्षबीच ११ बुँदे सहमति भएपछि स्थिति सामान्य बन्दै गइरहेको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका प्रशासकीय अधिकृत मनोज कुमार सैनीले जानकारी दिए ।

सैनीका अनुसार बिहीबार राति गोली लागी मृत्यु भएका व्यक्तिका आफन्तसहित स्थानीय बासिन्दा र स्थानीय प्रशासनबीच ११ बुँदे समझदारी भएको छ । उक्त समझदारीपछि हिन्दु समुदायका व्यक्तिहरुले लक्ष्मी पूजाको मुर्तिहरु पनि बिहीबार राति नै बिसर्जन गरिसकेका छन् ।

दुई पक्षबीच स्थानीयले दिएको उजुरीमा किटान गरिएका ‘घटनाका दोषी’लाई कारबाही गर्ने । मृतक परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने, मृतकलाई शहीद घोषणाका लागि गृह मन्त्रालयमा सिफारिस गर्ने लगायत विषयमा समझदारी भएको सैनीले जानकारी दिए ।

तिहारको समयमा लक्ष्मी पूजा गरी मुर्ति बिसर्जन गर्ने क्रममा स्थानीय मुस्लिम समुदायका युवाहरुले अवरोध सिर्जना गरेपछि बुधबार साँझदेखि कृष्णनगरमा तनाव बढेको थियो ।

सैनीका अनुसार मृतक पाण्डेका परिवारले २० लाख रुपैयाँ क्षतिपूर्तिका माग गरेका छन् । स्थानीय प्रशासनले २० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने अधिकार नभएकाले त्यससम्बन्धमा गृह मन्त्रालयमा सिफारिस गर्ने समझदारी बनेको सैनीले जानकारी दिए ।

बिहान ११ बजे जिल्ला सुरक्षा समितिको बैठक बसेर शान्तिसुरक्षाको अवस्थाबारे विश्लेषण गरी कर्फ्यु फिर्ता लिने निर्णय गर्न सक्ने सैनीले बताए ।

सम्बन्धित समाचार