नेकपा सचिवालय बैठकले सकेन उम्मेदवारको टुङ्गो लगाउन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि आइतबार उम्मेदवारको टुङ्गो लगाउने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको सचिवालय बैठकले प्रतिनिधिसभा, प्रदेशसभा र केही स्थानीय तहका प्रमुखको उम्मेदवारको घोषणा गर्ने बताइए पनि समय अभावले उम्मेदवारको टुङ्गो लगाउन नसकेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकले तल्लो तहबाट आएका उम्मेदवारको सिफारिसमा प्रारम्भिक छलफलसमेत गरेको जनाइएको छ । “बैठकमा हामीले क्षेत्रीय निर्वाचन समन्वय समिति, जिल्ला कमिटी र प्रदेश कमिटीबाट आएका सिफारिस अध्ययन गरेका छौँ, तिनमा छलफल शुरु भएको छ”, उनले भने, “भोलिको बैठकपछि उम्मेदवारको घोषणा गर्नेछौँ ।”



पार्टीले उम्मेदवार सिफारिस गर्दा तल्लो तहलाई कम्तीमा तीन जनाको नाम भने पनि कतिपय ठाउँबाट एक जनाको नाममात्र पनि सिफारिस छ भने कतिपय ठाउँबाट दुई, तीन जनाको सिफारिस भएको प्रवक्ता श्रेष्ठले बताए । बैठकमा प्रधानमन्त्रीले आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी गराएको उनले जानकारी दिए ।

“उहाँ सिकिस्त भएको होइन, तर उहाँको स्वास्थ्यमा केही समस्या देखापरेका कारणले परीक्षण भइरहेको छ”, उनले भने, “प्रधानमन्त्रीको केही स्वास्थ्य प्रतिवेदन आउन बाँकी छ, त्यो प्रतिवेदन प्राप्त भएपछि उपचारका अरु माध्यमका बारेमा आवश्यक निर्णय हुन्छ ।” प्रवक्ता श्रेष्ठका अनुसार प्रधानमन्त्रीले ग्राण्डी इन्टरनेशनल हस्पिटलमा डाइलासिसपछि सामान्य अवस्थामा काम गरिरहेका छन् । भोलि पुनःनेकपाको बैठक बस्नेछ ।

सम्बन्धित समाचार