मंसिर १४ गते हुन गैरहेको उपनिर्वाचनमा कास्की निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीबाट विद्या भट्टराईलाई उम्मेदवार बन्ने भएकी छन् । नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकमा कास्की २ को प्रतिनिधिसभा सदस्यका लागि भट्टराईलाई उम्मेदवार बनाउने विषयमा सहमति भएको हो ।
शनिबार प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकमा उपनिर्वाचनका लागि उम्मेदवारहरूबारे छलफल भएको थियो । प्रतिनिधिसभा, विभिन्न प्रदेशसभा र स्थानीय तहका प्रमुखको उपनिर्वाचनमा पार्टीबाट उम्मेदवार छनोटबारे सचिवालय बैठकमा छलफल भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनले आइतबार बस्ने सचिवालय बैठकले उपनिर्वाचन हुने प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका प्रमुखको उम्मेदवारी टुंगो लगाउने बताए ।
नेकपा सचिवालय स्रोतका अनुसार शनिबारको सचिवालय बैठकमा उपनिर्वाचनका उम्मेदवारहरूबारे छलफल हुँदा कास्की २ मा कसलाई उम्मेदवार बनाउने भन्नेबारे सुरुमा छलफल भएको थियो । जसमा सबै सचिवालय सदस्यहरूले जिल्लाबाट निर्विरोध रूपमा विद्या भट्टराईको नाम सिफारिस भएकाले उनलाई नै उम्मेदवार बनाउनुपर्ने कुरामा सबै सचिवालय सदस्य सहमत भएका थिए ।
कास्की क्षेत्र नम्बर २ बाट निर्वाचित नेकपाका सांसद रवीन्द्र अधिकारीको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रहेका बेला हेलिकोप्टर दुर्घटनामा परेर निधन भएको थियो । उनको निधन भएपछि उक्त निर्वाचन क्षेत्र खाली भएको थियो । विद्या भट्टराई अधिकारीकी श्रीमती तथा नेकपाकी नेतृ हुन् ।