महराको थुनछेक बहस आज, ७ वर्ष कैद सजायको मागदाबी

महिलामाथि जबरजस्ती करणी उद्योग (प्रयास)गरेको अभियोग लागेका पूर्व सभामुख कृष्ण बहादुर महराको आज थुनछेक बहस हुँदैछ । शुक्रवार अदालती बयान सकिएपनि समय अभावका कारण थुनछेक बहस शुरु हुन सकेको थिएन ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले महराविरुद्ध बिहीबार अभियोग पत्र दायर गरेकोमा शुक्रबार बिहानदेखि महराको अदालती बयान शुरु गरिएको थियो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश सुदर्शनराज पाण्डेको बन्द इजलाशमा महराको बयान लिइए थियो । पाँच घन्टा भन्दा धेरै समय महरा लगायतको वयान भएको थिइ ।



महराले अदालतमा इन्कारी बयान दिएका थिए । प्रहरीको झण्डै १ महिने अनुसन्धानपछि काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले बिहीबार महराविरुद्ध जबरजस्ती करणी उद्योगको अभियोगमा मुद्दा दायर गरेको थियो । महरामाथि संघीय संसद सचिवालयमा कार्यरत महिला कर्मचारीले बलात्कार प्रयासको आरोप लगाएकी थिइन् ।

सरकारी वकिलले महराविरुद्ध जबरजस्ती करणी उद्योगमा अधिकत्तम ५ वर्ष र पदीय ओहोदाको दुरुपयोग गरी कसुर गरेको अभियोगमा थप २ वर्ष ६ महिना गरी ७ वर्ष ६ महिना कैद सजायको मागदाबी गरेको छ ।

शुक्रबार बयान लिने काम सकिएपनि थुनछेक बहसका लागि महरालाई आइतबार बिहान १० बजे उपस्थित गराउन भनिएको छ । थुनछेकमा वादी र प्रतिवादीका तर्फबाट कानून व्यवसायीले बहस गर्नेछन् । बहस सकिएपछि अदालतले महरालाई थुनामा राख्ने, धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा छोड्ने बारेको आदेश गर्ने छ ।

सम्बन्धित समाचार