-थम्मन थापा
बागलुङ, १७ कात्तिक ।
वैदेशिक रोजगारीमा गएकाहरूलाई केवल घरको माया मात्र हुँदैन, यो देश र समाजप्रति पनि उनीहरू उत्तिकै चिन्तित हुन्छन् । विदेशमा रहेर पनि उनीहरू आवश्यक पर्दा गाउँ समाजमा हुने मेला महोत्सवदेखि विपन्न र आपतमा परेकाहरूलाई सहयोग गर्न तत्पर हुन्छन् । संस्थागत होस् वा व्यक्तिगत वा समूह बनेर होस्, जुनसुकै ढङ्गबाट भए पनि आफ्नो सामथ्र्यले भ्याएसम्म उनीहरू आफ्ना सहयोगी हातहरू बढाउन थालेका छन् । दुःख सुखमा साथ दिने, आपसी सदभाव र आत्मियता बढाउने नेपालीहरूको स्वभावलाई केही युवाहरूले जीवन्त राखेका छन् ।
यसैकोे एउटा ज्वलन्त उदाहरण हो– रोजगारीको सिलसिलामा जापानमा रहेका केही युवाहरूको मिलेर बनेको एउटा समूह जसले विगत डेढ वर्षयता प्रत्येक महिना कुनै न कुनै विपन्न, गरिब, दलित र पिछडीएका परिवारलाई निस्वार्थ सहयोग गरिरहेको छ । छ जना सहृदयी साथीहरू मिलेर ‘हेल्प एभ्री मन्थ फर समवन’ नामको समूह निर्माण गरेर उनीहरूले आरम्भदेखि नै मासिक रूपमा निरन्तर सहयोग गरिरहेका छन् । यो कार्य धेरैका लागि उदाहरणीय बनेको छ ।
समूहमा विमल श्रेष्ठ, प्रल्हाद अधिकारी, निशान भट्ट, लोकेन्द्र भण्डारी, सुवास खत्री र मीन थापा रहेका छन् । उनीहरू कहिले धादिङको चेपाङ बस्तीका विपन्न परिवार, कहिले चितवनका मृगौला पीडित, कहिले आर्थिक अभावमा परेका विद्यालय र विद्यार्थीलाई लत्ता कपडा र नगद सहयोग गर्दै आइरहेका छन् ।
यही क्रममा केही दिन पहिले यस समूहले बागलुङको गलकोट नगरपालिका ७ मल्मका २ परिवारलाई नगद र लत्ता कपडा सहयोग प्रदान गरेको थियो । स्थानीय जनहित कला केन्द्रको ५ औं वार्षिकोत्सव तथा तिहार मेलाको अवसरमा मल्मका विपन्न परिवार कुमारी दमाई र धन कुमारी विश्वकर्मालाई झण्डै ५० हजार बराबरको खाद्यान्न, लत्ता कपडा र नगद सहयोग हस्तान्तरण गरेको समूहका सदस्य सुवास खत्रीले जानकारी दिए । समाजमा आपत विपतमा परेका नागरिकलाई थोरै भएपनि राहत होस् भन्ने उद्येश्यले यसरी समूहमार्फत सहयोग गर्न थालिएको खत्रीले बताए ।
समूहले प्रत्येक महिना देशभरका कुनै न कुनै स्थानमा सहयोग गर्दै आइरहेको छ । उनीहरूले आफुले सकेजति रकम समूहभित्र मात्रै सङ्कलन गरेर समाजमा सहयोग गर्दै आइरहेको सदस्य निशान भट्टले जानकारी दिए । उनले विदेशमा रहेर पनि आफनो देशमा आर्थिक अभावका कारण दुख पाइरहेकाहरुलाई सेवा गर्नु आफुहरूको पनि दायित्व रहेको बताए । यस्ता अभियानले धेरैलाई राहत त प्राप्त भएको छ नै, प्रेरणा र हौसला पनि मिल्ने समूहले विश्वास लिएको छ ।