बझाङको बुङ्गलमा निर्माणाधीन ६५ मेगावाटको कालंगा हाइड्रोपावरको सुरुङभित्र फसेर ४ जना मजदुर बेपत्ता भएका छन् । काम गर्नका लागि भनेर ३ वटा ट्याक्टर र एउटा जीपसहित आइतबार दिउँसो सुरुङभित्र छिरेका ६ जनामध्ये ४ जना मजदुर भित्रै फसेका हुन् । प्रहरीका अनुसार सुरुङभित्र फसेकाको उद्दारका लागि पटक पटक प्रयास गरिए पनि सफल हुन सकेको छैन ।
सुरुङभित्र बेपत्ता हुनेमा दैलेख घर भएका कर्णबहादुर शाही, देलेखकै महेन्द्र बहादुर शाही, अछामका महेन्द्र साउँद र बझाङका शेरसिंह धामी छन् । जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) गणेश बमले सुरुङमा फसेकाहरुको उद्दारका लागि काठमाडौंबाट उद्दार टोली मगाइएको बताए ।
‘गृह मन्त्रालयमा खबर गरेर उद्दार टोली पठाइदिन भनेका थियौं,’ डिएसपी बमले भने, ‘अहिले उद्दार टोली बोकेर त्यहाँबाट हेलिकोप्टर उडेको जानकारी पाएका छौं ।’ स्थानीय स्तरमा सुरुङ भित्र फसेका व्यक्तिको उद्दार गर्ने स्रोत साधन तथा जनशक्ति नहुँदा केन्द्रको टोलीलाई पर्खिनुको विकल्प नभएको डिएसपी बमले बताए ।