जिल्ला अदालत काठमाडाैंले पूर्व सभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको छ । संसद सचिवालयकी एक कर्मचारीलाई यौन दुर्व्यवहार गरेको अभियोग लागेका महरालाई थुनछेक बहसपछि तत्काल प्राप्त प्रमाणका आधारमा मुद्दाको पुर्पक्ष गर्नुपर्ने देखिएकाले थुनामै राख्न अदालतले आदेश दिएको हो ।
जिल्ला अदालत काठमाडाैंका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले महरालाई थुनामै राखेर मुद्दा अगाडि बढाउन आदेश दिएको हो । अदालतको आदेशपछि महरालाई डिल्ली बजार कारागार पठाइएको छ ।
महरामाथि झन्डै १ महिनाको अनुसन्धान पछि बिहीबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको थियो । काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले महराविरुद्ध जबरजस्ती करणी उद्योग र पदीय ओहोदाको दुरुपयोग गरी कसुर गरेको अभियोगमा साढे ७ वर्ष कैद सजाय मागदाबी गरेको छ ।
काठमाडौं जिल्ला अदालतको आदेशानुसार मुद्दा प्रक्रिया नटुंगिदासम्म महराले थुनामै रहनुपर्ने छ । यद्यपि, महराले जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध माथिल्लो अदालतमा पुनरावेदन गर्न पाउने छन् ।
फौजदारी मुद्दाको पुर्पक्षका लागि थुनामा चलान भएसँगै महरा प्रतिनिसभा सदस्य (सांसद) पदबाट स्वतः निलिम्बित भएका छन् ।