निवर्तमान सभामुख कृष्णबहादुर महरालाई जबर्जस्ती करणी उद्योगको अभियोगमा जेल चलान गरिएको छ । काठमाडौं जिल्ला अदालतले महरालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि उनलाई सोमबार अपराह्न डिल्लीबजार कारागार चलान गरिएको हो ।
जिल्ला अदालतमा आइतबार र सोमबार भएको थुनछेक बहसपछि न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले महरालाई थुनामा पठाउने आदेश दिएको हो ।
संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार प्रयासको आरोप लागेपछि गएको असोज १९ गते पक्राउ परेका महरा प्रहरी हिरासतमा बस्नुपर्ने अवधिभर भने नर्भिक अस्पतालमा बस्दै आएका थिए ।
अदालतले सोमबार अपराह्न पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएलगत्तै भने उनी इजलासमै भावुक बन्दै भक्कानिएका थिए । उनका दुवै छोरा पनि बाबुको खुट्टा समातेर रोएका थिए । बाबुलाई फसाइएको भन्दै सामाजिक सञ्जालमार्फत युद्वमा जाने धम्की दिएका महराका २ छोरा बाबुसँगै रोएपछि एकछिन त्यहाँको माहोल भावबिहल भएको थियो ।
यसअघि, सोमबार महराको पक्षमा रमन श्रेष्ठ, शेरबहादुर केसी, सविता भण्डारी र कृष्णप्रसाद सापकोटाले बहस गरेका थिए ।
इजलासमा महराको पक्षमा बहस चलिरहेका बेला पीडित भनिएकी महिला रोशनी शाही आफूले पनि अदालतमा धारणा राख्न पाउनुपर्ने भन्दै इजलासमा पुगेकी थिइन् ।
न्यायाधीशले रोशनीलाई बोल्न नदिएपछि उनी महराका सहयोगीहरुको गाडीमा चढेर फर्किएकी थिइन् ।