नवकान्तिपुर संवाददाता
काठमाडौं, २० कात्तिक ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियुले भारतले आफ्नो नक्सामा लिम्पियाधुरादेखि लिपुलेकका साथै कालापानीसम्मको नेपाली भूमि समेटेकोमा कडा रुपमा विरोध प्रदर्शन गरेको छ ।
भारतले नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि हस्तक्षेप गरेको भन्दै ‘भारतीय विस्तारवाद मुर्दावाद, ब्याक अफ् इण्डिया, कालापानी हाम्रै हो, सीमा मिच्न पाइँदैन’ जस्ता नारा लगाएर विद्यार्थी संगठन अनेरास्ववियुले बुधबार काठमाडौंमा प्रदर्शन गरेको हो ।
अनेरास्ववियुका अध्यक्ष ऐन महरले यो विरोध सांकेतिक मात्रै भएको र तत्काल नसच्च्याइए कालापानी गएर नेपाली भूमिमा राष्ट्रिय झण्डा गाड्ने बताए । उनले नेपाली भूमिको रक्षाका लागि निरन्तर संघर्ष गर्ने प्रतिबद्धता समेत जनाए ।
अध्यक्ष महरले औपचारिक रुपमा आफ्नो धारणा सार्वजनिक गर्न नेपाल सरकारलाई आग्रह गर्दै नाकाबन्दीको समयमा नझुकेको राष्ट्रवाद यो पटक पनि नझुक्ने बिश्वास व्यक्त गरे ।
भारतले जम्मु कश्मीर र लद्दाखलाई दुई प्रदेश बनाएपछि शनिबार देशको नयाँ नक्सा तयार पारेको थियो । भारतले नेपालको भूमिलाई आफ्नो नक्सामा राखेको भन्दै नेपालमा चर्को विरोध भइरहेको छ।