संयुक्त राज्य अमेरिकाले नेपालमा व्यापक भ्रष्टाचार हुने बताएको छ । अमेरिकी विदेश मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको कन्ट्री रिपोर्ट्स अन टेरोरिज्म २०१८ (Country-Reports-on-Terrorism-2018) प्रतिवेदनले नेपालमा व्यापक भ्रष्टाचार हुने बताएको हो ।
प्रतिवेदनमा नेपाल अन्तर्राष्ट्रिय आतंककारीहरूको लागि बाटो भएको औँल्याएको छ । खुला सिमाना र एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा त्यसमा पनि अपर्याप्त सुरक्षा व्यवस्थाका कारण नेपाल अन्तर्राष्ट्रिय आतङ्कवादीहरूका लागि बाटो र गतिविधि गर्ने विन्दुको भएको प्रतिवेदनमा उल्लेख छ ।
‘नेपालको भारतसँग खुला सीमा छ, सुरक्षा जाँच चौकी थोरै छ, एक हजार माइलको फरकमा केही पोइन्टहरू छन्, तर त्यहाँ पर्याप्त सुरक्षा नियन्त्रण छैन, सीमा काट्नेहरूलाई न त रोकिने गरिएको न त सुरक्षा जाँच गर्ने गरिएको छ , प्रतिवेदनमा भनिएको छ, ‘सुरक्षा सेवाहरूमा कर्मचारी, टेक्नोलोजी, डाटाबेस, आधारभूत उपकरणहरू र बिजुलीको अभाव छ । ‘ प्रभावकारी सीमा नियन्त्रण प्रदान गर्न शक्तिको अभाव रहेको पनि बताइएको छ ।
अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रीहरूको प्रि-स्क्रीन नहुने गरेको, डेटाबेसमा ल्यान्डिङ डेटा समावेश नगर्ने गरिएको, यात्रीहरूको शरीरको सुरक्षा जाँच सामान्य खालको भएको यात्रासम्बन्धी कागजपत्रको सुरक्षा जाँच गर्ने ‘अल्ट्राभाइलेट लाइट’ को व्यवस्था विमानस्थलमा नभएको पनि प्रतिवेदनमा छ ।
नेपालले २०१८ मा अन्तर्राष्ट्रिय आतंकवादको सामना गर्नु नपरेको तर घरेलु आतंकवादीहरूले विभिन्न स्थानहरूमा साना बम विस्फोट भएको प्रतिवेदनमा जनाइएको छ। उक्त बम विस्फोटका घटनाहरू नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले गरेको र विप्लव समूहमाथि निगरानी राखेको प्रतिवेदनमा भनिएको छ ।
भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणको केही हप्ता अघि भएको बम विस्फोट, वीरगन्जमा रहेको भारतीय वाणिज्य दूतावास भएको बम विस्फोट, अरुण तेस्रो आयोजनामा भएको बम विस्फोट पनि विप्लवले गराएको उदाहरण पनि दिएको छ । सन् २०१७ को तुलनामा २०१८ मा आन्तरिक आतङ्कवादका कम घटना भएको पनि ठहराएको छ ।