क्यानाडामा नेपाल भ्रमण वर्षको प्रबर्दधन

नेपाल भ्रमण वर्ष २०२० लाई प्रबर्दधन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डले क्यानाडाको मोन्ट्रियलमा अक्टोबर २५ देखि २७ सम्म आयोजित इन्टरनेशनल टुर एण्ड ट्राभल शो (आइटीटीएस)मा नेपालको सहभागिताको समन्वय गरेको थियो जुन क्यानाडाको ठूला शोमध्येको एउटा बन्न पुग्यो ।

शोका सहभागीहरूसँग अर्न्तक्रिया पनि गरिएको थियो । अर्न्तक्रियामा नेपालको हिमाली क्षेत्रको यात्रा गर्दा प्राप्त हुने रोमाञ्चक अनुभव, त्यस क्षेत्रको समृद्ध साँस्कृतिक परम्परासँगको साक्षत्कार र अतिथिहरूलाई गरिने हार्दिकतापूर्ण स्वागतको मिठो अनुभव आदिले पर्यटकको जीवनकालकै अविस्मरणीय अनुभव हुने जानकारी दिइएको थियो । नेपालको रमाइलो यात्रा गरेर फर्किने पर्यटकहरूले आफ्ना नातागोता तथा साथीभाइलाई नेपाल भ्रमणको अनुभव सुनाउँदा निश्चित रूपमा क्यानाडाबाट अरू पनि नेपाल घुम्न लागि प्रेरित हुने छन् र यसले नेपाल घुम्न आउने यात्रुको संख्यामा वृद्धि गरिदिने छ ।



शो अवधिमा नेपाल पर्यटन बोर्डका अधिकारीहरूले स्थानीय पत्रकारहरूसँग पनि भेटघाट तथा अन्र्तक्रिया गरेका थिए । यस क्रममा नेपाली टोलीले समाचार प्रकाशन गरी नेपालका बारे प्रचार प्रसार गरिदिनका लागि स्थानीय पत्रकारहरूलाई प्रायोजित यात्रामा नेपाल आउनका निमन्त्रणा पनि दिएका थिए । त्यसैगरी ट्राभल संचालकहरूलाई पनि व्यक्तिगत रूपमा भेट गरी नेपालको बारेमा जानकारी गराइएको थियो ।

नेपाल पर्यटन बोर्डका अधिकारीहरूले शोमा नेपाली स्टल घुम्न आएका नेपाली राजदूत भृगु ढुँगाना र उनको टोलीसँग पनि अर्न्तक्रिया गरेका थिए । यसक्रममा अधिकारीहरूले क्यानाडाका अन्य शहरहरूमा पनि प्रचार प्रसार पुर्याउनका लागि अनुरोध गरेका थिए ।

करीब १७,००० भन्दा बढी क्यानेडियन पर्यटकहरू सन् २०१८ मा नेपाल आएका थिए र यो संख्या नेपाल भ्रमण वर्षमा बढ्ने संभावना छ । यसको लागि नेपाल भ्रमण वर्ष २०२० मा पर्यटनलाई थप प्रवद्र्धन गर्ने क्रियाकलापहरू गर्न जरुरी छ ।

उत्सवमा प्रतिनिधित्व गर्न नेपाल पर्यटन बोर्डका तर्फबाट प्रबन्धक विमल कडेल र अधिकृत जानकी उपाध्यायले गरेका थिए ।

सम्बन्धित समाचार