‘५ करोडको बार्गेनिङ नमान्दा कानुनी फन्दामा’

ठगी आरोपमा प्रहरी हिरासतमा रहेका अर्बपति व्यवसायी रुपज्योतिले आइतबार काठमाडौं जिल्ला अदालतमा न्यायाधिस सामु आफूसँग रु। ५ करोड फिरौतीको शैलीमा मागिएको र सो रकम दिन मञ्जुर नगर्दा ठगीको आरोपमा पक्राउ हुनुपरेको बताएका छन् ।

ज्योतिले प्रष्ट रुपमा त भनेनन् तर उनले पैसाका लागि ‘बार्गेनिङ’ गर्ने समूहको कुरा स्वीकार नगर्दा उनी जबर्जस्ती कानूनी फन्दामा पारिएका हुन् ।



बिगेन्द्रकृष्ण मल्लको ठगीको जाहेरीका आधारमा रुपज्योति र उनकी छोरी सुरुचि ज्योति २१ कात्तिक राति सिंगापुरबाट नेपाल फर्किनासाथ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।

ज्योति निकट स्रोत भन्छ, “मल्लसँग उच्च राजनीतिक पहुँच भएको समूहसमेत जोडिई पाँच करोड दिनुपर्ने भनी प्रस्ताव गरेको शर्त नमान्दा कानुनी फन्दामा पर्नुपरेको हो ।”

पूर्व अर्थ राज्यमन्त्री समेत रहेका व्यवसायी ज्योति मागेबमोजिमको रकम दिन टसमस नभएपछि उनी कानुनी फन्दामा परे । गृहमन्त्री रामबहादुर थापाबाट ‘ग्रिन सिग्नल’ आएपछि ज्योतिलाई पक्राउ पर्न प्रहरीले हतारो देखाएको स्रोत बताउँछ । ज्योतिले अदालतसामु आफूले अहिलेसम्म पनि पक्राउ पर्नुको आधार र कारण नपाएको पनि बताएका थिए ।

सम्बन्धित समाचार