-थम्मन थापा ।
बागलुङ, २५ कात्तिक ।
गलकोट आफैमा प्राकृतिक सांस्कृतिक एवं ऐतिहासिक महत्त्व बोकेको क्षेत्र हो । यहाँ विभिन्न प्राकृतिक मनोरम स्थल, धार्मिक स्थलहरू पर्याप्त छन । पछिल्लो समय गलकोट क्षेत्रलाई पर्यटन प्रवर्दन गरी गलकोटमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन विभिन्न गतिविधिहरू भइरहेका छन् । गलकोट घुम्टे पर्यटन विकास केन्द्रले बागलुङको गलकोट क्षेत्रलाई पर्यटकीय हबका रूपमा विकास गर्ने उद्देश्यले आगामी मंसिरमा ‘गलकोट घुम्टे महोत्सव’ आयोजना गर्दैे छ । केन्द्रले आगामी मंसिर ४ गतेदेखि ११ गतेसम्म दोस्रो गलकोट घुम्टे महोत्सव गर्न लागेको हो ।
महोत्सवमा गलकोट क्षेत्रको मौलिकता झल्काउने र कला, संस्कृति, खेलकुद एवं कृषि–उपजको प्रदर्शनीसहित पर्यटकलाई आकर्षित गर्ने गरी मौलिक कार्यक्रमका रूपमा १३ वर्षपछि दोस्रो गलकोट घुम्टे महोत्सव गर्न लागिएको गलकोट घुम्टे पर्यटन विकास केन्द्रका वरिष्ठ उपाध्यक्ष राजबहादुर थापाले जानकारी दिए । थापाका अनुसार गलकोटका पर्यटकीय स्थलहरू र कला संस्कृतिलाई व्यापक प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने महोत्सवको मुख्य लक्ष्य रहेको छ ।
नेपाल सरकारले घोषणा गरेको आन्तरिक पर्यटन वर्ष सन् २०१९ र नेपाल पर्यटन भ्रमण वर्ष २०२० लाई सफल पार्न महोत्सवले सहयोग पुर्याउने महोत्सव आयोजक संस्था गलकोट घुम्टे पर्यटन विकास केन्द्र बागलुङका अध्यक्ष झङ्कबहादुर बस्नेतले जानकारी दिए । जिल्लाको गलकोट क्षेत्र भनेर चिनिने गलकोट नगरपालिका, ताराखोला गाउँपालिका र बडिगाड गाउँपालिकाका ३ र ८ नम्बर वडालाई पर्यटकीय क्षेत्रको रूपमा अगाडि बढाउन महोत्सवको आयोजना गरिएको केन्द्रका सचिव शेरबहादुर थापाले बताए । महोत्सवमा गलकोट क्षेत्रमा रहेका पर्यटकीय स्थलहरू घुम्टे धुरी, गलकोट दरबार, गाईघाट झरना, गुफा, उदय रिघा बुद्ध–बिहार, टेउवा, हटिया सहस्र धारा, पाण्डवखानी, निलुवा, मल्म राम्चे ढुङ्गा, नाच्ने डाँडाको विशेष प्रचारप्रसार गरिने उनको भनाई छ । त्यस्तै स्थानीय कला संस्कृति झल्कने गलकोट क्षेत्रको संस्कृतिका रूपमा रहेको भुस पोल्ने मेला, सिस्नो खोस्ने मेला, घाटु नाच, साराङ नाच, सोरठी, मारूनी नाच, लाखे नाच तथा भजन कीर्तनलाई महोत्सवमा विशेष प्रस्तुतिका रूपमा राखिने आयोजकले जनाएको छ ।
महोत्सवको आकर्षणको रूपमा राष्ट्रिय खेल भलिबल, ब्याडमिन्टन, लोक दोहोरी तथा सांस्कृतिक प्रदर्शनी रहने छन् । गलकोट क्षेत्रको उत्पादन ताराखोलाको आलु र दरमखोलाको असला माछा, रातो च्याउ लगायत खाद्यान्न पनि बिक्री गरिने आयोजकले जानकारी दिएको छ । महोत्सव अवधिभर राष्ट्रिय स्तरमा ख्यातिप्राप्त कलाकारहरू, हाँस्य कलाकारहरूको बेजोड सांगीतिक तथा हाँस्य प्रस्तुति रहने बताइएको छ ।
महोत्सवमा ‘टाइटल स्पोन्सर’ प्रभु ग्रुपले गर्ने घोषणा गरेको केन्द्रका सचिवालय सदस्य मिलन केसीले जानकारी दिए । झण्डै १ करोड ४५ लाख रूपैयाँ आम्दानी गर्ने लक्ष्य लिइएको महोत्सवमा १ करोड रूपैयाँ खर्च लाग्ने र बचेको ४५ लाख रूपैयाँले गलकोटका पर्यटकीय क्षेत्रको विकासका लागि गुरुयोजना बनाएर काम गरिने महोत्सव सचिवालय समिति सदस्य तथा आर्थिक व्यवस्थापन समिति संयोजक मञ्जु शर्मा चालिसेले जानकारी दिए ।