सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले लिपुलेक र कालापानीमा रहेको सीमाका विषयमा सरकार अल्मलिन्छ कि भन्ने नसोच्न आग्रह गरेका छन् । देशका उत्कृष्ट १०० गन्तब्यको सूचीमा सूचीकृत स्याङ्जाको कालीगण्डकी गाउँपालिका– ३ लसर्घामा अवस्थित प्रसिद्ध आलमदेवी मन्दिर अङ्कित हुलाक टिकटको शुक्रबार अनावरण गर्दै मन्त्री बास्कोटाले सीमाका विषयमा सरकारकोतर्फबाट स्पष्ट दृष्टिकोण आइसकेको बताए ।
‘सरकार चुपचाप बसेको कुरा उठाउनै नसकेर होइन हामीलाई राम्ररी थाहा छ । सरकारकोतर्फबाट स्पष्ट दृष्टिकोण अगाडि सारिसकेका छौँ ।’ सरकारका प्रवक्तासमेत रहेका बास्कोटाले भने । ‘विवादलाई कूटनीतिक र राजनीतिक माध्यमबाट छलफल मार्फतटुङ्गोमा पुर्याउनेछौं । सरकारसँग राष्ट्रप्रेमको अडान छ । त्यसैले पनि तपाईहरु ढुक्क हुनुहोस् सरकार अल्मलिँदैन’ प्रवक्ता बास्कोटाको भनाइ थियो ।
सरकारले आशा जगाउँदै गएको छ । हामीलाई थाहा छ, निराशाको खेती गरेका छैनौँ । प्रवक्ता बास्कोटाले भने -‘सरकारलाई पाँच वर्षसम्म पर्खिनुको विकल्प छैन । विश्वास गर्नुहोस् मुलुकले काँचुली फेरेर छाड्ने छ ।’
आलमदेवी मन्दिर शक्तिको केन्द्रका रुपमा स्थापित हुँदै गएको बताउँदै इतिहास सम्पदा रसंस्कृतिको संरक्षणका लागि सामूहिक प्रयासलाई निरन्तरता दिन आवश्यक रहेको उनले बताए ।