जापानको इन्टेक्स ओसाकामा हालै आयोजित ‘टुरिज्म एक्सपो जापान २०१९’ मा नेपालले आफ्नो गौरवपूर्ण उपस्थिति जनाएको छ । सहभागी पर्यटन क्षेत्रसँग सम्बन्धित व्यवसायीहरू, ब्यापारीहरू, सञ्चार क्षेत्रका व्यक्तित्वहरू तथा अवलोनकताहरूको उपस्थिति रहेको एक्सपोमा नेपालले नेपाल भ्रमण वर्ष २०२० लाई ध्यानमा राखी विशेष प्रबद्र्धनात्मक कार्यक्रम गरेको थियो, जुन उत्साहपूर्वक रहेको जानकारी प्राप्त भएको छ ।
प्राप्त जानकारी अनुसार एक्पोमा करिब १०० देशबाट १९८५ को सहभागिता रहेको थियो भने धेरै कम्पनीहरू स्वतन्त्र रूपमा पनि एक्सपोको अवलोकन गर्न आएका थिए । मेला हेर्न आउनेहरूको सङ्ख्या लगभग एकलाख बीसहजारभन्दा बढी रहेको थियो ।
एक्सपोमा पर्यटक, पर्यटक व्यवसायी, मिडियाकर्मी तथा सहभागीहरूबाट नेपाल भ्रमण वर्ष २०२० का बारेमा निक्कै जिज्ञासा राखिएको पाइयो । नेपाल पर्यटन बोर्डका प्रतिनिधिहरूले पनि भ्रमण वर्षलाई प्रबद्र्धन गर्ने लक्ष्य गरी जापानलगायत भुटान, कम्बोडिया, लाओस, बङ्गलादेश, म्यानमार र मलेसियाका प्रतिनिधिहरूसँग भ्रमण वर्षका बहुआयामिक पक्षका बारेमा छलफलको आयोजना गरेका थिए जुन उत्साहपूर्वक रहेको र छलफलका सहभागीहरूले नेपाल भ्रमण वर्षलाई सफल बनाउन आफ्नो तर्फबाट प्रयास गर्ने बताएको स्रोतले बताएको छ ।
एक्पोलाई भव्य र उद्देश्यमूलक बनाउन नेपाल पर्यटन बोर्डले नेपालका छवटा निजी क्षेत्रका पर्यटन व्यवसायी तथा कम्पनीहरू क्लब हिमालय, होटल अन्नपूर्ण भ्यु, यती ट्राभल्स, केजीएच ग्रुप, डिभाइन इन्टरनेशनल एक्सफ्लोर एण्ड ट्रेक्स तथा जिओलोजी टुर एण्ड ट्राभल्स नेपालसँग सहकार्य गरी नेतृत्व गरेको थियो ।
बुद्ध धर्मावलम्बीहरूको बाहुल्यता रहेको जापानीहरूका लागि नेपाल एउटा राम्रो धार्मिक गन्तव्य बन्न सक्छ । उनीहरू नेपाललाई बुद्ध जन्मेको पवित्र भूमिका रूपमा हेर्दछन् र विश्वास पनि गर्छन् । बुद्ध धर्मप्रति आस्थावान धेरै जापानीहरूका लागि नेपाल तीर्थस्थल नै हो । उनीहरू नेपालका लुम्बिनीलगायत काठमाडौं, पोखरा, चितवन, अन्नपूर्ण र सगरमाथा यात्रा गर्न रूचाउँछन् । नेपालका प्राकृतिक र सांस्कृतिक लगायत अन्य विविध पक्षका बारेमा पनि जापानीहरूबीच राम्रो प्रचार प्रसार गर्न सके समृद्ध मुलुक जापान नेपालका लागि राम्रो बजार बन्न सक्छ । ओसाका एक्सपोमा नेपालको सहभागिता यसको एउटा थालनी मात्र हो ।
अक्टुबर २४ देखि २७ सम्म आयोजित टुरिज्म एक्सपोमा नेपाल पर्यटन बोर्डका तर्फबाट सिजियर अफिसरद्वय खेमराज तिमल्सेना र कुन्दन शर्माले प्रतिनिधित्व गरेका थिए ।