प्रधानमन्त्रीले तयार पारे नयाँ मन्त्रीको सूची, विष्णु पौडेल अर्थमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओली केही दिनयता मन्त्रिपरिषद् हेरफेरको तयारीमा जुटेका छन् । सबै मन्त्रीलाई राजीनामा दिन लगाएर ९ जनाको मात्र राजीनामा स्वीकृत गराउने र बाँकीलाई यथावत राख्ने उनको तयारीमा अर्का अध्यक्ष पुष्पकमल दाहाल सहमत नभएपछि जो जसलाई हटाउने हो उनीहरूलाई मात्र राजीनामा दिन लगाउने ओलीको तयारी छ । नौजना मन्त्री हटाउने विषयमा प्रचण्डले पनि स्वीकृति दिएसँगै ओलीले नयाँ मन्त्रीको सूची पनि तयार पारिसकेको स्रोतको दावी छ ।

ओलीले तत्कालै मन्त्रिपरिषद् हेरफेर गर्न चाहे पनि समाजवादी पार्टी नेपालले कात्तिकसम्म मात्र सरकारमा रहने बताएकोले मंसिर पहिलो सातासम्म मन्त्रिपरिषद विस्तारका लागि पर्खिने बताएका हुन् । समाजवादी पार्टी सरकारबाट बाहिरिएमा नयाँ मन्त्रीको संख्या १२ जनासम्म पुग्न सक्ने स्रोतले बतायो ।



स्रोतका अनुसार सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, उद्योगमन्त्री मातृका यादव, कृषिमन्त्री चक्रपाणि खनाल, भूमी व्यवस्थामन्त्री पद्मा अर्याल, खेलकुदमन्त्री जगत विश्वकर्मा, महिला तथा बालबालिका मन्त्री थममाया थापा, खानेपानीमन्त्री बिना मगर, भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ र अर्थमन्त्री युवराज खतिवडालाई मन्त्रिपरिषद्बाट विदाई गर्ने ओलीको तयारी रहेको छ ।

उपसभामुखबाट शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गराएर उनलाई महिला तथा बालबालिका मन्त्री बनाउने बिषयमा पनि दुवै अध्यक्षहरू सहमत देखिएका छन् । त्यसैगरी तत्कालीन नेकपा एमालेको नीति निर्माण तहको दस्तावेज लेखनमा ओलीका विश्वास पात्र प्रदीप ज्ञवाली प्रमुख सल्लाहकार बनाउने ओलीको तयारी रहेको छ । हाल उनी परराष्ट्रमन्त्रीको भूमिकामा छन् ।

त्यसैगरी पार्टीका महासचिव विष्णु पौडेललाई अर्थमन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको छ । नेता घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, सोमप्रसाद पाण्डे, पार्वत गुरुङ, लेखराज भट्ट, पम्फा भुसाल, रामेश्वर राय यादव, देवेन्द्र पौडेल नयाँ मन्त्रीको लिष्टमा अटाएका छन् । देव गुरुङ र अग्नी सापकोटामध्ये एकलाई सभामुख बनाउने तयारी ओली प्रचण्डको रहेको स्रोतको दावी छ ।

समाजवादी पार्टी सरकारबाट बाहिरिएको अवस्थामा विना मगरको पद जोगिन सक्ने र जनार्दन शर्मा प्रभाकरलाई पनि मन्त्रीपरिषद्मा सहभागि गराउने विषयमा पनि प्रचण्डले ओलीलाई दवाव दिईरहेको स्रोतको दावी छ ।

सम्बन्धित समाचार