डाक्टर केसीद्वारा अनशन स्थगित

डाक्टर गोविन्द केसीले १७औँ अनशन स्थगित गरेका छन् । चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा सुधारको माग गर्दै गएको कात्तिक १७ गतेदेखि डडेलधुरामा अनशन बसेका डाक्टर केसीले मंगलबार अनशन स्थगित गरेका हन् ।

भारतले निकालेको नयाँ नक्सामा नेपालको पश्चिमी सीमा क्षेत्रको लिम्पियाधुरासम्मको भूभाग समेटिएको समाचारले अरु नेपाली नागरिकजस्तै आफू पनि स्तब्ध भएको बताउँदै उनले अनशन स्थगित गरेका हुन् । राष्ट्रियताको संवेदनशील विषयमा देशभरमा जनस्तरबाट आवाज उठिरहँदा सबैको संवेदनालाई हृदयंगम गर्दै जारी सत्याग्रह तत्कालका लागि स्थगन गरेको डाक्टर केसीले बताए ।



उनले प्रेस विज्ञप्तिमा भनेका छन्, ‘सीमा रक्षा राष्ट्रियताको पहिलो शर्त हो । सबल र आत्मसम्मानपूर्ण राज्यका लागि सीमा रक्षा मात्रै काफी चाहिं छैन । आम नागरिकको जीविका सहज हुने, गुणस्तरीय शिक्षा र स्वास्थ्य उपलब्ध हुने तथा बिनाभेदभाव र बिनाभय सबै नागरिक बाँच्न पाउने अवस्थामा मात्र राष्ट्रियता बलियो हुन सक्छ ।’

डाक्टर केसीले पछिल्लो समय सीमा विवाद समाधानका लागि राजनीतिक दलबीच देखिएको एकताको पनि प्रशंसा गरेका छन्, ‘अहिले नेपालको पश्चिमी सीमा मिचिएको विषयमा राजनीतिक शक्तिहरुबीच जुन अभूतपूर्व तदारुकता देखिएको छ, त्यो देखावटी मात्र नभई कुटनीतिक माध्यमबाट मिचिएको भूमि फिर्ता गर्नमा केन्द्रित होस् र त्यो प्रयासले परिणाम निकालोस् भन्ने चाहन्छौं । त्यसको अर्थ राज्यले गर्नैपर्ने बाँकी काम र जिम्मेवारीबाट उन्मुक्ति पाउने भन्ने किमार्थ हुँदैन । चिकित्सा शिक्षा क्षेत्रमा भएको १० अर्ब ठगीका अभियुक्त लगायतलाई न्यायको कठघरामा ल्याउने जिम्मेवारीबाट सरकार कसै गरे पनि तर्कन सक्दैन ।’

स्वास्थ्य र चिकित्सा शिक्षा सुधार तथा सुशासनका लागि आफूहरुको लडाइँ जारी रहने तथा सरकारले माग पूरा नगरेको खण्डमा पुनः सत्याग्रहसहितका आन्दोलनका कार्यक्रम ल्याउने पनि डाक्टर केसीले चेतावनी दिएका छन् ।

सम्बन्धित समाचार