मिर्गौला किनबेच तथा विक्री वितरण गरेको अभियोगमा पक्राउ परेका निदान अस्पतालका सिइओसहित पाँच जनालाई जिल्ला अदालत ललितपुरले पुर्पक्षका लागि थुनामा पठाएको छ।
मंगलबार उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाएको जिल्ला अदालत ललितपुरले जनाएको छ।
अदालतले काठमाडौं-२६ घर भएका निदानका सिइओ विपेन्द्र प्रधान, डा. राजेश पन्त, रामेछाप दोरम्बा-३ घर भई स्वयम्भू बस्ने शंकरलाल लामा, सप्तरी कञ्चनरुप नगरपालिका-९ घर भई भक्तपुर मध्यपुरठिमी बस्ने कुमुदकुमार भट्टराई र ललितपुरका रामचन्द्र आलेलाई थुनामा पठाएको हो।
भट्टराई निदान अस्पतालका कानुनी सल्लाहकार र आले जिल्ला प्रशासन कार्यालय ललितपुरका शाखा अधिकृत हुन् । उनीहरूको मिलेमतोमा एक बिरामीको मिर्गौला शंकरलाल लामालाई विक्री गरिएको प्रहरीको मानव बेचबिखन तथा ओसारपसार ब्युरोले जनाएको छ।