बामदेवलाई उपप्रधानमन्त्री बनाउन हुँदैछ यस्तो तयारी

पार्टी एकतापछि नेता बामदेव गौतमले साथ नदिँदा सचिवालयमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली स्वयं अल्पमतमा परेका थिए । गौतम अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, नेता झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ समूहमा सक्रिय हुँदासम्म आफु अल्पमतमा पर्ने बुझेका ओलीले गौतमलाई फकाउने रणनीति अबलम्बन गरे । त्यसपछि ओलीले पार्टीमा उपाध्यक्ष पद सिर्जना गरेर गौतमलाई फकाउनकै लागि जिम्मेवारी दिने प्रस्ताव राखे । पार्टीको उपाध्यक्ष बनाएपछि गौतम फेरि अध्यक्ष ओलीसँग निकट भए ।

तत्कालीन एमाले र माओवादी मिलेर नेकपा गठन गर्दा दुई अध्यक्ष र महासचिव मात्र तोकिएको थियो तर पार्टी एकताको डेढ वर्षपछि गौतमका लागि उपाध्यक्ष पद सिर्जना गरिएको थियो । प्रस्तावित उपाध्यक्ष पदलाई स्थायी समितिले अझै अनुमोदन नगरेपछि गौतम फेरी ओलीसँग रुष्ट हुन थाले । झण्डै महिना दिन अगाडि नेकपाले दशैं, तिहार, नेपाल सम्बत र छठ पर्वका अवसरमा आयोजनाका गरेका शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रममा नेता गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई झट्का लाग्ने अभिव्यक्ति दिए ।



प्रधानमन्त्री ओलीको पाँच वर्ष सरकारको नेतृत्व आफैं गर्ने योजना छ । तर, गौतमले ओली र प्रचण्डबीच यसअघि नै आधा–आधा कार्यकाल बाँडेर सरकारको नेतृत्व गर्ने सहमति भएको भन्दै प्रचण्ड चाँडै प्रधानमन्त्री बन्ने बताए । उनले ओली र प्रचण्डबीचको उक्त सहमति कार्यान्वयन गरिनुपर्ने बताए ।

तत्कालीन एमाले र माओवादीबीच पार्टी एकता हुँदा अध्यक्षद्वय ओली र प्रचण्डले आलोपालो सरकारको नेतृत्व गर्ने गरी भद्र सहमति भएको सार्वजनिक भएको थियो । यसको कार्यान्वयन हुने र नहुने भन्नेमा सत्तारुढ नेकपाका नेताहरु नै अन्योलमा रहेका बेला नेता गौत्तमको यो अभिव्यक्तिले ओली झस्किए । गौतम फेरि प्रचण्डनिकट हुन पुगेको ओलीले बुझे । हाल मन्त्रिपरिषद् विस्तारको तयारी गरिरहेका ओलीले गौतमलाई पनि उपप्रधानमन्त्री बनाएर आफ्नो कार्यकाल ५ वर्ष नै लम्ब्याउन नयाँ जुक्ति निकालेका छन् ।

प्रधानमन्त्री ओलीले नेकपाका प्रस्तावित उपाध्यक्ष बामदेव गौतमलाई सरकारमा सामेल गर्न राष्ट्रिय सभामा लैजाने प्रस्ताव गरेका छन् । नेता गौतमलाई राष्ट्रिय सभामार्फत सांसद बनाएर उपप्रधानमन्त्रीका रूपमा मन्त्रिपरिषदमा भित्र्याउन खोजिएको बालुवाटार स्रोतले जनाएको छ । ओली र गौतम मिलेर सरकारमा हाली मुहाली चलाउन खोजेपछि प्रचण्ड, माधव नेपाल र झलनाथ खनाल नयाँ रणनीतिको तयारीमा रहेको स्रोतको दावी छ ।

सम्बन्धित समाचार