विलम्ब नै सही, पीडितले न्याय पाउने छन्

प्रतिनिधि सभाका निर्वाचित सांसद अफताब आलम पक्राउले तातेको रौतहटको राजनीतिले सिङ्गो देशलाई तरङ्गित बनाइदिएको छ । २०६४ साल चैत २७ गते बम बनाउदै गर्दा बिष्फोट भई घाइते भएकाहरूलाई पोल खुल्ने डरले ट्याक्टरमा हाली इँटा भट्टामा लगेर जिउँदै जलाइएको कहालीलाग्दो अपराधका कथित नाइके आलम १२ वर्षपछि पक्राउ परे । यससँगै स्थानीयस्तरमा एकप्रकारको भयमिश्रित खुसी छाएको छ । पीडितले केही हदसम्म न्याय पाउने महसुम गरेका छन् ।

देशमा अहिलेसम्म घटेका घटनाक्रमलाई हेर्दा आलम काण्ड इतिहासकै क्रुर, अपराधिक र अक्षम्य घटनाको रूपमा लिन सकिन्छ । यस्तो अमानवीय र अकल्पनीय घटनाको जति निन्दा र भत्र्सना गरे पनि कम हुन्छ । अन्तर्राष्ट्रिय स्तरमा समेत यो घटनाले नेपालको छवि नराम्ररी बिग्रेको छ । आलम नेपाली कांग्रेस पार्टीबाट निर्वाचित सांसद समेत हुन । आलमको मुद्दामा अदालती थुनछेक बहस चलिरहँदा जनस्तरबाट ठूलो चासोको रूपमा हेरिएको छ । नहेरून पनि कसरी र, त्यति ठूलो र भयानक घटना घटाउने नाइके छुट्ने पो हो कि ? जिज्ञासा त हुने नै भयो । घटनालाई राजनीतिकरण गरेर अपराधीले उन्मुक्ति पाउने हो कि भनेर स्थानीयस्तरमा एक प्रकारको त्रास पनि बढिरहेको छ । साँच्चै यदि आलम सामान्य अवस्थामा छुट्ने हो भने उनका विरूद्धमा बोल्ने र जाहेरी दिने कोही पनि बाँच्ने छैनन् ।



अदालतले आलम निर्दोष भएको ठहर गर्ला वा नगर्ला त्यो अदालतकै विषय हो तर आर्थिक प्रलोभन देखाइ फकाउने र नमानेमा डर त्रास र धम्कीले पीडितहरूका परिवारलाई बयान फेर्न लगाउनेदेखि किटानी जाहेरी फिर्ता लिन लगाउनेसम्मका हरकत आलमका मान्छेहरूले गरिरहेको खुलासा भएको छ । आलमको त्यो हरकत लुक्न सकेन र एकाएक बाहिरियो । आलुबारीमा हात्ती लुकाउन सकिएन ।

अहिले जिल्ला अदालत रौतहटमा थुनछेक बहस पैरवी भइहेको छ । पैसाको पछाडि जोकोही पनि लोभिंदो रहेछ र, आफ्नो पदीय मर्यादा र पदीय जिम्मेवारीको ख्याल गर्दो रहेनछ । हो, आलमको मुद्दामा पनि त्यस्तै देखियो । न्यायको लागि ठूला गफ दिने र आफुलाई निक्कै ठूलो कानुन व्यवसायी भन्नेहरू र पुर्व महान्यायधिवक्ता जस्तो गरिमामय पदमा पुगेका न्यायमूर्तिहरूले समेत आलमको पक्षमा वकालत गरेको देखियो । पेसागत धर्म निभाउने बहानामा उनीहरूले त्यस्तो जघन्य अपराधको पक्षपोषण कसरी गर्न सकेका होलान् ? पैसाको लागि उल्टोलाई सुल्टो र सुल्टोलाई उल्टो बनाई वकालत गर्ने यो देशका कालाकोटवालाहरूलाई इतिहासले पक्कै पनि क्षमा दिने छैन । तिनीहरूलाई जिउँदै जलाइएका र छटपटाउँदै देहत्याग गर्न विवश आत्माहरूको श्राप लाग्ने छ साथै दिवंगत व्यक्तिका परिवारको आँशु लाग्ने छ ।

कसैको अपराधिक र क्रूर भावनाबाट टुहुरा बन्न बाध्य बालबालिकाहरू, सिउँदो पुसिएका श्रीमतीहरू र बुढेसकालका सहारा छोराहरू गुमाएका बृद्ध बा आमाहरूको आत्माले तिनीहरूलाई अवश्य सराप्ने छ । पेशागत धर्मका नाममा यदि इतिहासकै कलङ्कित र घृणित घटनाका नाइकेहरू आत्मा बेचिएका कानुन व्यवसायीहरूकै तर्कका आधारमा न्यायको मन्दिरबाट उन्मुक्ति पाउने हो भने आम मानिसहरूमा न्यायालयप्रति नै आशंका जन्मिने छ । कसैको प्रभाव, दवाब र प्रलोभनकै भरमा क्रूर अपराधिहरूले उन्मुक्ति पाउने सम्भावना बढ्दै गयो भने कानुनी राज्यमाथि पनि गम्भीर प्रश्न जन्मिने छ । लोकतान्त्रिक मुलुकमा न्यायलय कमजोर बन्नै हुँदैन । अपराधीले उसले गरेको अपराधको प्रकृतिका आधारमा अदालतबाट दण्डित हुने अवस्था सिर्जना भए मात्र न्यायलयप्रति जनविश्वास बढ्ने र जनताले न्याय पाएको अनुभुति गर्ने छन् । त्यसैले आलमले जति धेरै कानुन व्यवसायी किनेर न्यायधीशलाई प्रभावमा पार्ने प्रयत्न गरे पनि अन्ततः विलम्ब नै सही पीडितले न्याय पाउने नै छन् ।

सम्बन्धित समाचार