भारतले नयाँ राजनीतिक नक्सा जारी गरेलगत्तैबाट देखिएको नेपाल भारतबीचको सीमा विवादका बारेमा उत्तरी छिमेकी देश चीनले मुख खोलेको छ । उसले दुवै देशबीच देखिएको सीमा विवादलाई आपसी सम्बादबाट सुल्झाउन नेपाल र भारत दुबैलाई सुझाव दिएको छ ।
बिहीबार काठमाण्डौस्थित चिनियाँ दूतावासले विज्ञप्ति जारी गर्दै पछिल्लो पटक भारतले जारी गरेको नयाँ राजनीतिक नक्सासँगै देखिएको कालापानी सीमा विवाद वार्ता मार्फत टुंग्याउनु पर्नेमा जोड दिएको हो । नेपाली भूमि आफूहरुले अतिक्रमण नगरेको प्रष्ट पार्दै चीनले नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको जहिल्यै पनि सम्मान गर्ने प्रतिबद्धता जनाएको छ ।
साथै कालापानी क्षेत्रको सीमा विवाद नेपाल र भारतले मैत्रीपूर्ण परामर्श र वार्ताको माध्यामबाट समाधान गर्नेछन् भन्ने सदिच्छा पनि उसले व्यक्त गरेको छ । विज्ञप्तीमा कालापानीबारे चासो देखाएको चीनले लिम्पियाधुरा र लिपुलेकका बारेमा भने उल्लेख गरेको छैन ।
साथै चीनले नेपालको भूमि मिचेको भनेर केही सञ्चारमाध्यममा आएको समाचार प्रति कुनै सत्यता नरहेको भन्दै विज्ञप्तीमा खण्डन पनि गरेको छ । वर्षौँदेखि नेपाल र चीनबीच राम्रो सहकार्य हुँदै आएको अवगत गराउँदै चीनले बाहिरी हस्तक्षेपको अवज्ञा गर्दै सीमासम्बन्धी मामिलालगायत सहकार्य थप सुदृढ गर्न चाहेको पनि प्रस्ट पारेको छ ।