रेन्बो ट्राउड होम स्टे : एउटा नयाँ अनुभव

ताराखोला बहुउद्देश्यीय रेन्बो ट्राउड होम स्टेको समुदघाटन कार्य हालै सम्पन्न भएको छ । होम स्टेको उदघाटनपछि बोल्दै गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले गण्डकी प्रदेश सरकारले पर्यटन र कृषिमार्फत युवाहरूलाई आत्मनिर्भर बनाउदै समृद्व गण्डकी प्रदेश निर्माण अभियानमा अगाडि बढिरहेको बताएका छन् । गण्डकी प्रदेश प्राकृतिक अस्पताल भएकोले यस भित्रका सम्भावना र अवसरहरूको खोजी गरी गण्डकी प्रदेश सरकारले नीति तथा कार्यक्रम अगाडि बढाइरहेको, त्यसमा युवाहरूको संलग्नतालाई लिएर आवश्यक कागजात र प्रक्रिया पूरा गर्ने कार्य भइरहेको मन्त्री लम्सालले जानकारी दिए । उनले सरकारले उपलब्ध गराउने अनुदानको अधिकतम उपयोग गरी आर्थिक समृद्विमा जोडिन दिन समेत आग्रह गरे ।

त्यस्तै ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले सामुदायिक होम स्टेले ताराखोलाको पर्यटन क्षेत्रमा एउटा सम्भावनाको ढोका खोलेको बताए । यसले यस क्षेत्रको अर्गानिक उत्पादनलाई पर्यटनसँग जोडेर पर्यटक आवागमनमा वृद्वि गर्दै यहाँका पर्यटकीय स्थलहरुको विकास तथा स्तरोन्नति गर्न ताराखोला गाउँपालिकाले आवश्यक गृहकार्य गरिरहेको पनि अध्यक्षले जानकारी दिए ।



गाउँपालिकामा होम स्टे निर्माण गर्न गण्डकी प्रदेश सरकारले नगद रु १० लाख अनुदान प्रदान गरेको थियो । ताराखोलामा अहिले पाँचवटा होम स्टे सञ्चालनमा रहेका छन् । सामुदायिक होम स्टे उदघाटनमा स्थानीय महिला समूहले मन्त्री लम्साललाई भव्य स्वागत गरेका थिए । होम स्टेमा स्थानीय लोकल खानाका परिकारहरूका साथ दरमखोलाको चिसो पानीमा हुर्केका स्वादिला रेन्बो ट्राउड माछाको स्वाद लिन सकिने छ ।

सम्बन्धित समाचार