प्रधानमन्त्री ओलीको सचिवालयमा तीनजना नियुक्त

प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा तीनजना नियुक्त भएका छन् । मन्त्रिपरिषदको शुक्रबार राति बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस सल्लाहकारमा सूर्य थापालाई नियुक्त गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले प्रधानमन्त्रीको आर्थिक मामिला सल्लाहकारमा पूर्वसचिव लालशंकर घिमिरे र विकास विज्ञमा इन्जिनियरसमेत रहेका गजेन्द्र थपलियालाई नियुक्त गरेको छ ।

मन्त्रिपरिषदको आजको बैठकको निर्णय भने आगामी बिहीबार मात्रै सार्वजनिक हुनेछ । प्रधानमन्त्री ओलीको प्रेस सल्लाहकार नियुक्त भएका थापा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुख हुन् । प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा कार्यरत डा। कुन्दन अर्यालले दिएको राजीनामा स्वीकृत गर्दै थापालाई उक्त पदमा नियुक्त गरिएको हो ।



थापा यसअघि तत्कालीन प्रधानमन्त्री झलनाथ खनालको पनि प्रेस सल्लाहकार बनिसकेका व्यक्ति हुन् । नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय सदस्यसमेत रहेका उनी नवयुग, बुधबार साप्ताहिकको पूर्वसम्पादकसमेत हुन् । उनलाई राज्यमन्त्रीसरहको सुविधा दिनेगरी नियुक्त गरिएको हो।

आर्थिक मामिला सल्लाहकार घिमिरे भने पूर्वसचिव हुन् । उनी राजश्व सचिवबाट अवकास पाएका पूर्वकर्मचारी हुन् । प्रधानमन्त्री ओलीले सचिवालयबाट हालै राजीनामा दिएका ६ जनालाई विदाइ गरेका छन् । उनले प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल र वैदेशिक मामिला सल्लाहकारमा डा। राजन भट्टराईलाई यथावत राखेका छन् ।

सम्बन्धित समाचार