पूर्वमन्त्री मोहम्मद अफताव आलमलाई शुक्रबार राति ललितपुरस्थित नक्खु जेल चलान भएका छन् । शुक्रबार जिल्ला अदालत रौतहटले आलमलाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको थियो । अदालतले आलमलाई सुरक्षाको दृष्टिकोणले उपयुक्त कारागारमा राख्न आदेश दिएकाले नक्खु कारागार चलान गरिएको हो ।
जिल्ला अदालत रौतहटका न्यायधीश दीपक ढकालले १२ वर्षअघि भएको बम बिस्फोट घटनाका घाइतेलाई इँटाभट्टामा जलाइएको आरोप लागेको आलमलाई थुनामा राख्न आदेश दिएका थिए । जाहेरवाला, पीडित र सरकारका साक्षीहरुको सुरक्षा प्रदान गर्नुको साथै आवश्यकताअनुसार संरक्षण गृहमा राख्न अदालतले आदेश दिएको छ ।
आठ दिनको थुनछेक बहसपछि शुक्रबार अदालतले आलमलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । कसुरको प्रकृति र गम्भीरता र बादीको साक्षी प्रमाणहरुलाई प्रतिकूल प्रभाब पार्न सक्ने भएकाले कारागारमा राखी मुद्दाको पुर्पक्ष गर्नुपर्ने आदेशमा उल्लेख छ ।
जिल्ला अदालतका श्रेस्तेदार गुणराज पराजुलीले अदालतले कर्तव्य ज्यान, बिस्फोटक पदार्थ र ज्यान मार्ने उद्योगको आरोपित आलमलाई मुद्दाको विशेषता, गम्भीरता, संवेदनशीलतालाई ध्यानमा राख्दै मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ को उपदफा १ ख बमोजिम थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश भएको जनाएका छन् । आलमसहित ११ जनाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा मुद्दा दायर गरे पनि अन्य १० जना अझै फरार रहेका छन् ।