भारतीय विस्तारवादविरुद्ध राँके जुलुससँगै विरोध प्रदर्शन

यति बेला देशमा छिमेकी मुलुक भारतले नेपालको भू–भाग समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि विरोधका स्वरले माहोल तताएको छ । राजधानी काठमाडौंलगायत नेपाल भारत सीमा क्षेत्रसँगै देशभर विरोध प्रर्दशन भइरहेको छ । यसैक्रममा गलकोट नगरपालिका–३ हटिया बजारमा नेपाल तरुण दल वडा समितिको आयोजनामा शुक्रबार साँझ भारतीय विस्तारवादविरुद्ध प्रदर्शन गरिएको छ ।

नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई भारतले अतिक्रमण गरी आफनो देशको नक्सामा समेटेर सार्वजनिक गरेको विरोध स्वरूप प्रर्दशन गरिएको हो । लिपुलेक कालापानीको भूमि नेपालको हो र नेपालकै रहनुपर्छ भन्दै नेपाली काँग्रेसले आधिकारिक रूपमा नेपाल सरकारलाई दबाब दिंदै आएको छ ।



उग्रराष्ट्रवादको आडमा सत्तासिन भएको सरकार नेपाली सीमाना अतिक्रमणको विषयमा केही पनि नबोलेको भन्दै नेपाली कांग्रेसले भारतीय विस्तारवादकाविरुद्ध दबाब सृजना गर्ने उद्देश्यले गलकोट नगरपालिका ३ हटिया बजारको लोकतान्त्रिक चोकबाट विरोध जुलुस (राँके जुलुस) निकालेको हो ।

नेपाली कांग्रेस गलकोट नगरपालिका ३ नं वडा समिति, नेपाल तरुण दल, गलकोटले आयोजना गरेको उक्त जुलुसमा ‘भारतीय विस्तारवादविरुद्ध एक होऔ, कम्युनिष्ट सरकार राजीनामा दे’ लगायतका नारा लगाएका थिए । लोकतन्त्र चोकबाट शुरु भएको जुलुस जिप पार्कमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोण सभालाई नेपाली कांगेस महाधिवेशन प्रतिनिधी मञ्जु शर्मा चालिसे, नेपाली कांग्रेस जिल्ला सदस्य फमबहादुर खत्री लगायतले सम्बोधन गरेका थिए । विरोध प्रर्दशनीमा नेपाली काँग्रेसका नेता, कार्यकर्ता, भातृ संगठन लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार