चर्चित भारतीय क्रिकेटर सचिन तेन्दुलकरले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटे गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीटमार्फत फोटो सार्वजनिक गर्दै सचिनसँग भेट भएको जानकारी दिएका हुन् । प्रसिद्ध क्रिकेट खेलाडी र युनिसेफको सद्भावना दूतसँगको भेटले खुशी लागेको भन्दै प्रधानमन्त्री ओलीले सचिनले बाल अधिकारको संरक्षण र उनीहरूको हितका लागि नेपालमा गरेका प्रयासको सराहना पनि गरेका छन् ।
सचिन संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) को कार्यक्रममा सरिक हुन नेपाल आएका हुन् । बाल अधिकारसम्बन्धी महासन्धि पारित भएको ३० वर्ष पुगेको उपलक्ष्यमा युनिसेफले उनलाई नेपाल बोलाएको हो । सचिन युनिसेफका दक्षिण एसिया सद्भाव दूत हुन् ।
शुक्रबार नेपाल आएका उनले शनिबार टियु क्रिकेट मैदानमा बालबालिकासँग क्रिकेट खेलेका थिए । साथै आइतबार बिहान उनले पशुपति दर्शन गरेका थिए । उनी आज नै भारत फर्कने तय भएको छ ।