राजु लामिछाने
काठमाडौं, २ मंसिर ।
आजै गर्ने भनिएको मन्त्रिमण्डल पुनर्गठनबाट प्रधानमन्त्री केपी शर्मा ओली पछि हटेका छन् । आइतवार बसेको नेकपा सचिवालय बैठकले मन्त्रिमण्डल हेरफेरका लागि प्रधानन्त्री ओलीलाई सहमति दिएसँगै आजै मन्त्रिमण्डल हेरफेरको तयारीमा रहेका थिए । तर नेकपा नेता माधव कुमार नेपालले प्रधानमन्त्रीको मन्त्रिमण्डल हेरफेरको तयारीबारे नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग असन्तुष्टि जनाएपछि प्रधानमन्त्री ओली रोकिएका हुन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले हटाउन लागिएका मन्त्री र नयाँ नियुक्त गर्न लागेका मन्त्रीबारे असन्तुष्टि जनाउदै प्रचण्डलाई सजग गराएका थिए । हटाउन लागेको मन्त्री भन्दा नयाँ नियुक्त गर्न लागिएका मन्त्रीहरु झन् कमजोर रहेको नेपालको जिकिर थियो । प्रवक्ता नारायणकाजी श्रेष्ठ र उर्जामन्त्रीसमेत रहेका वर्षमान पुनले पनि प्रचण्डसँग भेटवार्ता गरी मन्त्रिमण्डल पुनर्गठनबारे असहमति जनाएका थिए । भेटमा नेपाललाई प्रचण्डले केही नाममा हेरफेर गर्ने र भोलिमात्र मन्त्रिमण्डल पुनर्गठन गर्न ओलीलाई सुझाउने बताएका थिए ।
नेपाल, श्रेष्ठ र पुनसँगको भेटवार्तापछि प्रचण्डले ओलीलाई फोन गरी केही मन्त्रीको नाममा पुर्नविचार गरी भोलिमात्र मन्त्रिमण्डल पुनर्गठन गर्न आग्रह गरेका थिए । प्रचण्डको आग्रहमा सकारात्मक हुँदै ओली आज मन्त्रिमण्डल पुनर्गठनबाट पछि हटेको स्रोतको दावी छ ।
यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आजै नयाँ मन्त्रीहरुको विषयमा आफू निकट नेताहरुसँग अनौपचारिक छलफल गरेका छन् । प्रचण्डको फोनसँगै ओलीले पुरानालाई हटाएर नयाँ राख्ने मन्त्रीको विषयमा निर्णय गर्न नसकेको स्रोतको भनाइ छ । प्रधानमन्त्री ओलीले कृषिमन्त्री चक्रपाणि खनाल, महिला वालवालिका तथा समाज कल्याण मन्त्री थममाया थापा, युवा खेलकुद मन्त्री जगत विश्वकर्मा, भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ र उद्योगमन्त्री मात्रिका यादवलाई विदा दिने विषयमा अडिक रहेपनि नयाँ मन्त्रीको बारेमा सोच्न सकिने जवाफ प्रचण्डलाई दिएका थिए ।
नेता नेपालले भने ओली मिर्गौला प्रत्यारोपणका क्रममा लामो समय आराम गर्नुपर्ने भएकोले सरकारको जिम्मा हचुवाको भरमा कसैलाई दिनु अनुपयुक्त हुने भन्दै प्रचण्डलाई सुझाएका थिए । स्रोतका अनुसार रक्षामन्त्री ईश्वर पोखरेललाई उपप्रधानसहित सरकारको जिम्मा दिने विषय नेपालले रुचाएका छैनन् ।