थम्मन थापा
बागलुङ, ४ मंसिर ।
बुधबारदेखि दोस्रो गलकोट घुम्टे महोत्सव शुभारम्भ हुँदै छ । गलकोट घुम्टे पर्यटन विकास केन्द्र बागलुङको आयोजनामा मंसिर ४ गतेदेखि ११ गतेसम्म सञ्चालन हुने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सवलाई भव्य अनि सभ्य रूपमा सफल पार्न अहिले सबै क्षेत्रबाट आवश्यक गृहकार्य भईरहेको महोत्सव आयोजक समितिले जनाएको छ ।
मङ्सिर ४ गतेदेखि गलकोट नगरपालिका ५ हरिचौर बसाह फाँटमा सञ्चालन हुने महोत्सवको पुर्व सन्ध्यामा गलकोटको मुख्य बजार हटियालाई दुलही झैं सिँगारिएको छ । दोस्रो गलकोट घुम्टे महोत्सवमा आउने दर्शक तथा पर्यटकहरूको स्वागतको निमित्त गलकोट क्षेत्र यति बेला दुलही जस्तै सिँगारिएको छ । दोस्रो गलकोट घुम्टे महोत्सवलाई लक्षित गरी गलकोटका चोक टोल तथा गाउँहरू सरसफाइसँगै झिलिमिली पारिएको छ । महोत्सवमा आउने दर्शक, अतिथि पाहुनाहरू र पर्यटकहरूलाई स्वागत गर्नको निम्ति गलकोटलाई सुन्दर बनाईएको छ । गलकोटको हटिया, हरिचौर बजार लगायत विभिन्न टोलटोलहरू यति बेला महोत्सव प्रचार प्रसार सामग्रीसँगै ध्वजा पताकाले रङगीचङगी भएका छन् ।
गलकोट नगरपालिका र ताराखोला गाँउपालिकाका प्रत्येक वडामा डिपिआर तयार गरी गलकोटलाई पर्यटकीय हवको रूपमा विकास गर्ने उद्येश्य सहित झण्डै १३ वर्षपछि दोस्रो गलकोट घुम्टे महोत्सव आयोजना गरिएको हो । बुधबारदेखि सञ्चालन हुने महोत्सवको लागि महोत्सव स्थलमा रमाइलो मेला, बाल उद्यान, पिङहरू र स्टलहरू निर्माण भइसकेका छन् भने महोत्सव स्थल वरपर सरसफाई सँगै महोत्सव अवलोकनको लागि आउने दर्शकको स्वागतको लागि बसाहफाँट आसपासका क्षेत्र झिलीमिली बनाइएको छ ।
महोत्सव स्थलसम्म पुग्न दर्शक तथा पर्यटकलाई लक्षित गरि यातायात सहज आवागमनको निमित्त अवरूद्ध मोटरबाटो मर्मत गरी सुचारू गरिएको छ । त्यस्तै गलकोट नगरपालिकाका प्रत्येक वडामा महोत्सव प्रवेशद्वारहरू निर्माण गरिएको छ । दर्शकले महोत्सव अवधिभर प्रत्येक दिन राष्ट्रिय स्तरमा ख्यातिप्राप्त लोदोहोरी गायक गायिकाहरू, पप, आधुनिक गायक गायिकाहरू, हाँस्य व्यङ्ग्य कलाकारहरूसँगै मोडलहरूको प्रस्तुतिमा रम्न पाउने छन् ।
दोस्रो गलकोट घुम्टे महोत्सवमा गलकोटका पुराना र मौलिक संस्कृतिका गीत तथा नृत्यहरू (साँस्कृतिक झाँकी) प्रदर्शन, स्थानीय हस्तकलाका सामग्री प्रदर्शन, विभिन्न जातजातीको भेषभूषा प्रदर्शन, जडीबुटी प्रदर्शन, व्यवसायिक वस्तु प्रदर्शन, बाल उद्यान, पर्यटकीय स्थलको तस्विर समेत अवलोकन गर्न पाउने आयोजकले जनाएको छ । गलकोटमा विगतमा भएका महोत्सवभन्दा यो महोत्सव फरक हुने भन्दै आयोजकले सबैलाई महोत्सव अवलोकन गर्न अनुरोधसमेत गरेको छ ।
गलकोटमा सुरक्षालाई मध्यनजर गर्दै सिसी क्यामेरा जडान
आजकल सुरक्षाको विषय निकै चुनौतिपूर्ण बन्दै गइरहेको छ । चोरी, डकैती, घटना, दुर्घटना तथा अन्य अपराधिक क्रियाकलापहरूलाई न्यूनीकरण गरी सभ्य समाज निर्माण गर्न सिसिटिभी क्यामेराको प्रयोग महत्वपूर्ण बन्दै गएको छ । अहिले बागलुङ सदरमुकाम र गलकोट नगरपालिका ७ मल्म सप्ताहघाटमा सिसिटिभी क्यामेरा जडान गरी त्यसैको माध्यमबाट निगरानी गर्न थालिएको छ ।
सदरमुकाम बाहिर जिल्लामै पहिलो पटक पुरानो सामाजिक संस्था घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ मल्मले सार्वजनिक स्थल मल्म सप्ताहघाटमा गत वर्ष ९ वटा सिसिटिभी क्यामेरा जडान गरी सञ्चालनमा ल्याएको थियो । त्यस्तै गलकोटको मुख्य बजार हटियामा सिसिटिभि जडान गरिएको छ । गलकोट नगरपालिका वडा नं ३ हटिया बजारको सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै सिसिटिभि क्यामरा जडान गरिएको हो ।