प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्री मण्डल पुनर्गठन गर्ने निश्चित भएको छ । बिहानैदेखि अर्का अध्यक्ष प्रचण्डसँग छलफलमा जुटेका ओलीले नयाँ मन्त्रीहरुको नामावली टुंगो लगाउन नेकपा सचिवालय बैठक बोलाएका छन् ।
बुधबार १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने नेकपा सचिवालय बैठकले थपिने र बाहिरिने मन्त्रीहरुको अन्तिम टुंगो लगाउनेछ । प्रधानमन्त्री ओलीले मंगलबार मन्त्रिपरिषद्को बैठकमा मन्त्री हेरफेरको जानकारी गराएका थिए ।
मन्त्रिपरिषद पुनर्गठन अघि प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष पुष्पकमल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन् । बुधबार बिहान ओली र प्रचण्ड शितलनिवास पुगेर राष्ट्रपति भण्डारीसँग परामर्श गरेका हुन् ।
राष्ट्रपतिलाई भेट्नुअघि ओली र प्रचण्डले बालुवाटारमा अलग्गै छलफल गरेका थिए । त्यसपछि दुवै अध्यक्ष शितलनिवास गएका थिए । स्रोतका बढीमा १० जनासम्म मन्त्रीहरू हटाउने तयारी प्रधानमन्त्रीको छ । हटाइने मन्त्रीको सूचीमा थममाया थाया, लालबाबु पण्डित, चक्रपाणि खनाल, मातृका यादव, रघुवीर महासेठ, बिना मगर, गोकर्ण विष्ट लगायत छन्।
यी सबै चौमासिक कार्यसम्पादन मूल्याङ्कनमा कमजोर ठहरिएका मन्त्रीहरू भएको स्रोतको दाबी छ । सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, देवेन्द्र पौडेल, जनार्दन शर्मा,प्रभु साह लगायत थपिने स्रोतको दाबी छ ।