राष्ट्रपति विद्यादेवि भण्डारीको रोहबरमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नेपाल कम्युनिस्ट पार्टीको कार्यकारी अध्यक्ष पद दिइएको छ । पार्टी एकीकरण भएको डेढ वर्षपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्षबीच कार्यविभाजन भएको हो ।
अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच सरकार र पार्टी एक–एक जनाले सञ्चालन गर्ने गरी कार्यविभाजन भएको हो । कार्यविभाजनअनुसार सरकारको नेतृत्व पाँच वर्षसम्म केपी शर्मा ओलीले नै गर्ने भएका छन् । अर्का अध्यक्ष पुष्पकमल दाहाललाई भने कार्यकारी अधिकारसहित पार्टी सञ्चालनको जिम्मेवारी दिइएको छ ।
कान्तिपुर दैनिकका अनुसार ओली र दाहालबीच नयाँ सम्झौता हुने वातावरण बनाउनमा राष्ट्रपति विद्यादेवि भण्डारीको भूमिका रहेको थियो । ‘ओली र दाहालले बुधबार राष्ट्रपति भण्डारीको उपस्थितिमा आफ्नो कार्यविभाजनसम्बन्धी सहमति गर्नुभएको हो,’ घटनाक्रमका जानकार नेकपाका एक नेताले भने । एक्ला एक्लै गरिएका विगतका समझदारी कार्यान्वयनमा ओलीले उदासिनता देखाएपछि दाहालले भरपर्दो साक्षी खोजेका थिए । लगत्तै उनीहरुले राष्ट्रपति भण्डारीलाई भेटेर सहमति गरे ।